राज्यमन्त्री रावतद्धारा क्वारेन्टिन निरीक्षण

सुर्खेत, २८ चैत ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सुर्खेत र जाजरकोट जिल्लाका विभिन्न ठाउँमा बनाइएका क्वारेन्टिनको निरीक्षण गरेका छन् ।
मन्त्री रावतले विहीबार र शुक्रबारगरी सुर्खेतको चौकुने, पञ्चपुरी, गुर्भाकोट नगरपालिका र जाजरकोट सदरमुकाम खलंगास्थित जिल्ला त्रिभुवन माविमा बनाइएको क्वारेन्टिन निरीक्षण गरेका हुन् । अनुगमनका क्रममा मन्त्री क्वारेन्टिनमा बसेकाहरुलाई नआतिन र सुरक्षित भएर घर फर्किन आग्रह गरे । क्वारेन्टिन सञ्चालन गरेका सम्बन्धित स्थानीय तहहरुलाई क्वारेन्टिनमा सेवा सुविधामा ध्यान दिन निर्देशन दिए । चौकुनेमा ४ जना, पञ्चपुरीमा १३ जना, गुर्भाकोट नगरपालिकामा २७ जना र जाजरकोट सदरमुकाममा ३ जना क्वारेन्टिनमा बसेका छन् । निरीक्षणका क्रममा पञ्चपुरी नगरपालिका वडा नं. १० को क्वारेन्टिनमा बसेकाहरुले मोवाइल चार्ज समेत गर्न नपाएको र आफूहरु अप्ठेरोगरी वस्नुपरेको मन्त्री समक्ष गुनासो गरेका छन् । अन्य ठाउँको क्वारेन्टिनमा बसेकाहरुले भने क्वारेन्टिनमा सबै सुविधा पाएको र खुशीकासाथ बसेको बताए ।


तपाईको प्रतिक्रिया