वीरेन्द्रनगर नगरकार्यपालिकाको आकस्मिक बैठकले गर्यो यस्ता निर्णय

सुर्खेत, १४ चैत । वीरेन्द्रनगर नगरकार्यपालिकाका कार्यवाहक प्रमुख मोहनमाया भण्डारीको अध्यक्षतामा शुक्रबार कार्यपालिकाको आकस्मिक बैठक बसि विभिन्न निर्णयहरु गरेको छ ।
हाल विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण विरुद्ध प्रतिरक्षा गर्ने उद्देश्यले नेपाल सरकारले मिति २०७६ चैत्र ११ गते देखि १८ गते सम्म ‘औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने’ र सम्पूर्ण ब्यक्तिहरुलाई घरमै बसी उक्त संक्रमण विरुद्ध सजग हुने गरी सम्पूर्ण देश नै ‘लक डाउन’गरेको अवस्थामा यस नगरपालिका र अन्तर्गतका वडाहरुले विभिन्न निर्णाय गरेको हो ।
सम्पूर्ण जनप्रतिनिधीहरु, कोरोना संक्रमण विरुद्धको समन्वय समितिका पदाधिकारीहरु र विपद ब्यवस्थापनमा संलग्न हुने पदाधिकारीहरुलाई चौबिसै घण्टा सम्पर्क समन्वयमा रही सम्भावित जोखिम न्यूनीकरणमा सहभागी हुने, सम्पूर्ण स्वास्थ्य सँस्थामार्फत स्वास्थ्यकर्मीहरुले आआफ्नो सुरक्षा ब्यवस्था अपनाई स्वास्थ्य सेवा प्रवाह गर्ने, सो का लागि नगरकार्यपालिकाको कार्यालयले अन्य निकायसँग समन्वय गरी तथा विपद ब्यवस्थापन कोषबाट खर्च हुने गरी ब्यक्तिगत सुरक्षा सामग्री (एएभ्), इन्फ्रारेड थर्मो्मिटर, ग्लोभहरु, मास्क, ह्याण्ड सेनिटाईजर लगायतका सामग्री तथा आवश्यक न्यूनतम् औषधिहरु खरिद गरी उपलब्ध गराउने निर्णाय गरिएको नगरपालिकाले जनाएको छ ।
हालसम्म जिल्ला बाहिरबाट आएर घर परिवार तथा होटेलहरुमा बसीरहेका ब्यक्तिहरुलाई सोही स्थानमा निगरानीका साथ बस्ने गरी सबै वडा कार्यालयहरुले वडा विपद व्यवस्थापन समिती मार्फत ब्यवस्थापन मिलाउने, सो बाहेक सरकारी निकायहरुको समन्वयमा उद्दार गरी ल्याइने नगरबासी ब्यक्तिहरुलाई सरकारी विद्यालय, सामुदायिक भवन तथा विभिन्न संघ सँस्था सँग समन्वय गरी प्रत्यक्ष निगरानी (क्वारेन्टाईन) मा बस्ने ब्यवस्था मिलाउने र १०० शैयाको लागि आवश्यक पर्ने न्यूनतम् सामग्रीहरु नगरकार्यपालिकाको कार्यालयले विपद ब्यवस्थापन कोषबाट खर्च गर्ने गरी ब्यवस्था मिलाउने निर्णय गरेको छ ।
नगरपालिकाले गर्मीयाम बढ्दै गरेको र संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी नगरपालिका अन्तर्गतका जनसम्पर्क बढी हुने टोलहरु,कार्यालयहरु, स्वास्थ्य सँस्था,अस्पताल, क्लिनिकहरु, अत्यावश्यक सामग्री विक्रिवितरण हुने स्थानहरु र मुख्य बजार चोकहरुमा नगरपालिकाको दमकल मार्फत क्रमशः क्लोरिन तथा डिस्ईन्फेक्टरविषादि छर्कने निर्णय गरेको हो ।
नेपाल सरकारद्वारा’लकडाउन’ को अवधि चैत्र १८ गते पश्चात पनि थप भएको खण्डमा वीरेन्द्रनगरका बासिन्दा मध्ये दैनिक परिश्रम गरी साँझ बिहान छाक टार्नुपर्ने र बन्दको कारणले साँझ विहान खान नपाउने किसिमका परिवारहरुको पहिचान गरी त्यस्तो परिवारलाई बन्द नखुल्ने अवधिसम्मका लागि नगरपालिकाले प्रतिवडा अधिकतम ५ लाखका दरले न्यूनतम् खाद्यवस्तु (दाल,चामल,तेल र नुन) राहत स्वरुप उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ । साथै बन्दको कारणले साँझ विहानको न्युनतम खाध सामाग्रि खरिद गर्न घर बाहिर जान नसक्ने अवस्था भएमा वडा बासीले घरबाटै न्युनतम खाध सामाग्रि खरिद गर्न सक्ने गरी नगरपालिकाले हरेक वडामा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।
साथै नगरका हरेक टोलटोलमा सुरक्षा निकाय सगको समन्वयमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण विरुद्ध प्रतिरक्षा गर्ने उद्देश्यले अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने’ र सम्पूर्ण ब्यक्तिहरुलाई घरमै बसी उक्त संक्रमण विरुद्ध सजग हुने सार्वजनिक सुचना जारी गर्ने र नगरमा सम्भावित जोखिम न्युनिकरण गर्नका लागि आवश्यक राहत तथा प्रतिकार्यका लागि जिल्ला सुरक्षा समिती समक्ष अनुरोध गर्ने निर्णय नगरपालिकाले गरेको छ ।


तपाईको प्रतिक्रिया