चिन्तामणि शर्मा
सुर्खेत ।
२०४९ साल अघि सुर्खेतका दुई कांग्रेस नेता पूर्णबहादुर खड्का र हृदयराम थानी गुठगतरुपमा एउटै खेमामा रहेका थिए । दुबैको आदर्श ब्यक्ति थिए, कृष्णप्रसाद भट्टराई । कांग्रेसका तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा यति लोकप्रिय थिए कि यसको छनक पाएका कांग्रेस सर्वोच्व नेता एवं जन आन्दोलनका कमाण्डर गणेशमान सिंहले आफुले प्रधानमन्त्री पद नलिई कृष्णप्रसादलाई प्रधानमन्त्री बनाउन बाध्य भएका थिए । भट्टराइको लोकप्रियतालाई ‘क्रस’ गर्ने हिम्मत र शाहस नहुँदा राजाले प्रस्ताव गरेको प्रधानमन्त्री पद अस्वीकार गरेको भन्ने सिंहलाई बहाना खोज्नु परेको थियो ।
केन्द्रमा सन्त नेता भट्टराईको दबदबा रहेकै बखत सुर्खेत जिल्लामा केन्द्रमा चिनिने अनुहारका रुपमा पूर्णबहादुर खड्का र हृदयराम थानी थिए । खासगरी विद्यार्थी राजनीति परिचालनमा थानीको दबदबा रहेको थियो भने खड्का पार्टीको प्राविधिक कामहरु संयोजन गर्ने नेताको रुपमा उदाउदै गरेका थिए । उपत्यकाका किर्तिपुर, त्रिचन्द्र, ल क्याम्पस, शंकरदेव क्याम्पस, आरआर, अस्कल, पाटन र पद्मकन्या क्याम्पस लगायतका विद्यार्थी नेताहरु थानीको आसिर्वाद लिन उनको डेरा पुतली सडक पुग्ने गर्दथे ।
भट्टराईका प्रिय पात्र दुबैको राजनीति २०४६ साल अघिनै जमिसकेको थियो । उमेरले र संसदिय मोर्चा समालेको हिसावले खड्का थानी भन्दा अघि थिए भने विद्यार्थी ‘मुभमेण्ट’को हिसावले थानी ।
२०४७ को आम निर्वाचनमा सुर्खेत जिल्ला २ वटा निर्वाचन क्षेत्रमा बाँडियो । पश्चिम क्षेत्र २ नम्बर क्षेत्र अनि पुर्वी क्षेत्र १ नम्बर क्षेत्र । तुलनात्मक रुपमा पश्चिम क्षेत्र भन्दा पुर्वी क्षेत्र काँग्रेसकालागि कठिन थियो ।
पुर्वी निर्वाचन क्षेत्रबाट पूर्णबहादुर खड्काको टिकट सुनिश्चित बनिसक्दा पश्चिममा थानी र शुशिल कोइरालाका प्रिय पात्र शिवराज जोशी विच कस्ले टिकट पाउने भन्नेमा अन्यौलता कायम थियो । तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइरालाको प्रभावले जोशीले टिकट पाई छाडे । कम्युनिष्टहरुको ‘ओभर कन्फिडेन्स’ले पुर्वी क्षेत्र र संगठनको हिसावले पश्चिम क्षेत्र दुबै ठाउँबाट कांग्रेसले बाजी मा¥यो ।
यस विचमा थानी बेरोजगार जस्तै बने । लगत्तै स्थानीय निकायको निर्वाचनको घोषणा भयो । थानीको मुड जिल्ला विकास समितिको सभापति बन्ने देखियो । तदअनुरुप उनले आफ्नो गृह वडा वीरेन्द्रनगर १ बाट वडा अध्यक्षमा आफ्नो उम्मेद्धवारी दर्ता गरे । तत्कालिन समयमा कम्युनिष्टहरुको गढ रहेको वडाबाट जिल्ला विकास समितिको सभापतिको नारा लगाउदै वडा अध्यक्ष जित्न सफल भए । तर कांग्रेस भित्रको विग्रह त्यही बेलादेखि सुरु भयो ।
थानी आफुले त जिते, मेयरका उम्मेदवार कालिप्रसाद शाक्य निर्वाचनमा पराजित भए । प्रेमदेव गिरीलाई साइकिल चुनाव चिन्ह दिलाई विद्रोहमा उठाएको र शाक्यलाई निर्वाचनमा अन्तरघात गरि हराएको आरोप उनलाई लाग्यो । आफुलाई मात्रै मत मागेको मेयर र उपमेयरलाई मत नमागेको भन्ने आरोपको जवाफ दिन थानीलाई हम्मे–हम्मे प¥यो । लगभग ७५ प्रतिशत कम्युनिष्ट मतदाता भएको वडामा आफुले कसरी जित्ने भन्ने चिन्तामै थानी थिए । ब्यक्तिगत मत नमाग्दा थानीको पराजय निश्चित थियो ।
कसरी विग्रियो सम्बन्ध ?
२०४९ सालमा भएको स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित हुदै जिल्ला विकास समितिको सभापति बन्ने तिव्र आकांक्षा राखेका उनी खड्काको इसारामा गोविन्दबहादुर मल्ल जिल्ला विकास समितिको सभापति बनाइएपछि रुष्ट बने । निर्वाचन जिते सभापति बन्न कसैले रोक्न सक्दैन भन्ने अभिष्ट पालेका थानी अप्रत्यासित रुपमा सभापतिको रेशबाट बाहिर भएपछि खड्का विरुद्ध मोर्चाबन्दी गर्दै जिल्लाको राजनीतिमा उनलाई टिक्नै नदिने गरि अघि बढे ।
२०५१ सालको मध्यावधि निर्वाचनसम्म दुबैको राजनीतिको केन्द्रिय लाइन एउटै थियो । संयोगबस सुर्खेत तीन वटा निर्वाचन क्षेत्रमा बाँडियो । क्षेत्र नम्बर २ थानीको भागमा प¥यो । पुर्व पश्चिम पुरानै नेता खड्का र जोशीले टिकट प्राप्त गरे । निर्वाचनमा जोशी र खड्काले विजय प्राप्त गरे भने थानी पराजित भए । खासगरी इत्रामे ‘सेन्टीमेन्ट’ भड्किदा टेकदत्त रेग्मी हात्ती चुनाव चिन्ह लिई थानीको विरुद्धमा वागी बने । यसलाई थानी खेमाले पूर्ण खड्काको ईशारामा गरिएको अन्तरघात भन्ने बुझ्यो ।
यसरी जिल्लामा खड्काको पकड बलियो बन्दै गएको र केन्द्रमा समेत सफलता प्राप्त गर्दै गएका खड्कालाईनै प्राथमिकतामा राख्ने गरेको अनुमान गरि थानीले भट्टराई खेमा त्याग गरे ।
त्यतिखेरसम्म गिरिजाप्रसाद कोइरालाले कांग्रेसको राजनीतिमा पूर्ण पकड जमाइसकेका थिए । आफु कोइराला क्याम्पमा प्रवेश गर्दा संरक्षण भइने र खड्कालाई ‘वार’ गर्न सकिने ठम्याई थानीको रहेको देखिन्छ । यसपछि सुरु भयो, यी दुई विचको वास्तविक लडाई !
यसपछि सुर्खेतमा हुने कुनैपनि कार्यक्रमहरुमा यी दुई एउटै मञ्चमा विरलै देखिए । यतिसम्म कि आम निर्वाचन जस्तो संगिन अवस्थामा पनि एउटै मञ्च ‘शेयर’ गर्न दुबैले आवश्यक्ता ठानेनन् । फरकफरक मञ्चबाट आ–आफ्ना धारणा राख्दै गए ।
पछिल्ला दिनहरुमा नेता मात्रैै विभाजित बनेनन्, सोही हिसावले तलैबाट कार्यकर्ताहरुको समेत कित्ताकाट गरियो । यस्तो स्थितिमा कांग्रेस पुग्यो कि कांग्रेसमात्रै भनेर परिचय पुरा नहुने भएकोले थानी कांग्रेस र पूर्ण कांग्रेस भनेर पूरक प्रश्नहरु सोधिने अवस्थाको सिर्जना भयो ।
जिल्ला पार्टी, नेविसंघ, महिला संघ, तरुणदल, टे«ड युनियन, शिक्षकसंघ, कर्मचारी संघ, लगायतका भगिनी संस्थाहरु कब्जा गर्ने प्रतिस्पर्धानै चल्यो । भोटर देखी सक्रिय सदस्य सबैको कित्ताकाट भयो ।
आन्तरिक राजनीतिमा मात्रै होइन बाह्य प्रतिस्पर्धामा समेत एकले अर्को गुठलाई सफाया गर्ने रणनीति बनाइयो । यसैको कारण झुप्रा खानेपानी, जिल्ला सहकारी संघ लगायतका संघसंस्था उनीहरुको पकड भन्दा बाहिर गयो ।
थानी पक्षले इत्रामे (खड्का पक्ष) हरुले हरेक निर्वाचनमा घात गर्ने गरेको आरोप लगाउन थाले भने खड्का पक्षले थानीबाट आफ्ना कार्यकर्ताहरुलाई उपत्यकाभित्र दबाउदै लगिएको र कुनैपनि अवसर नदिई छोइछिटो गर्ने गरेको आरोप लाग्न थाल्यो ।
२०७४ को निर्वाचनसम्म आइपुग्दा उपत्यकामा कमलराज रेग्मीलाई हराउन खड्का खेमाका कार्यकर्ताहरु यामलाल कंडेललाई भोट माग्दै हिडेको र प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नम्बर १ मा खड्कालाई हराउन थानी पक्षले साटाखानी, कल्यान, दशरथपुर, लेखफर्सा, नेटा, अवलचिङ्ग, घुमखहरे, लगायतका ठाउँहरुमा अन्तरघात गरेको जस्ता संगिन आरोपहरु एकले अर्कोलाई लगाउन थाले ।
पुनर्मिलन यसरी सम्भव बन्यो
२०७४ को निर्वाचनमा बाम गठबन्धनका कारण सुर्खेतमा कांग्रेस ‘क्लिन स्वीप’को अवस्थामा पुग्यो । यसविचमा पूर्णबहादुर खड्का कांग्रेसको महामन्त्री पदमा मनोनित भए । कांग्रेसको शक्तिशाली पदमा मनोनित भइसकेपछिपनि जिल्ला कांगे्रसले उनलाई औपचारिक रुपमा बधाइ दिन आवश्यक ठानेन । महामन्त्रीको रुपमा अन्य जिल्लाहरुले उनलाई स्वागत र सम्मान गरिरहँदा आफ्नो गृह जिल्लामा भने कुनै कार्यक्रम नै गरिएन । थानीका विश्वास पात्र रहेका पार्टी सभापति कमलराज रेग्मीले खड्काकालागि दरवाजा बन्द गरि राखे ।
जिल्लाको राजनीति छोइछिटोबाट अघि बढिरहँदा केन्द्रिय राजनीतिमा भने केहि परिवर्तन देखा प¥यो । कोइराला परिवारको एकता अनि आगामी महाधिवेशनमा कोइरालानै सभापति बन्ने गरि छलफल अघिबढेपछि देउवा र रामचन्द्र पौडेल विच दुरी कम हुदै गयो । देउवा पौडेलप्रति पावर शेयरिङ्गमा उदार बन्न थाले । ६०÷४० को पावर शेयरिङ्गमा आफु निकटका कार्यकर्ताहरुलाई स्थापित गर्दै लैजाने रणनीतिमा पौडेल लागे । कांग्रेसको नीति तथा प्रतिस्ठानमा नियुक्ति गर्दा पौडेल खेमालाई सम्मानजनक हैसियत प्राप्त भयो । यसरी आगामी अधिवेशनमा कोइराला परिवारले सभापति पद नछाड्ने देखिएपछि अस्थित्व रक्षाकालागि देउवा र पौडेल नजिकिएका हुन ।
यसरी केन्द्रबाट मिल्दै आएको टिमको झलक सुर्खेतमा थानी र खड्काको एउटै मञ्चबाट भइरहेको सम्बोधनले पुष्टि गरेको छ । जिल्लाका हरेक ठुला कार्यक्रमहरुमा २७ वर्षपछि यी दुईबाट एउटै मञ्चबाट सम्बोधन हुन थालेको छ ।
मित्रताको झलक स्वरुप जिल्ला कांग्रेसले लामो समयपछि खड्कालाई सम्मान र बधाई दिने कार्यक्रमको आयोजना ग¥यो । लावालस्कर सहित सुव्बाकुना पुगेका कांग्रेस कार्यकर्ताहरुले महामन्त्री खड्काको रथ पार्टी कार्यालयमा भित्र्यायो । २७ वर्षपछि पार्टी कार्यालयबाट दुबैले सम्बोधन गरे । कार्यक्रममै छेडखानी समेत भयो । थानीले विगतमा केपी ओलीसंग आफ्नो पार्टी र झण्डा मात्रै नमिल्ने, अरु सबै मिल्ने भनि दिएको अभिब्यक्ति प्रति कटाक्ष गरे । तर खड्काले सालिनतापूर्वक आफुबाट विगतमा केही कमजोरी भए सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाए । खड्काले आगामी दिनमा थानीसंग भिडेर होइन, मिलेर जाने संकेत गरे ।
यसैको प्रतिफल स्वरुप महामन्त्री खड्काको इशारामा सुर्खेत कांगे्रसको क्षेत्रनम्बर १ को कमिटीले पहिलोपटक थानीलाई अतिथिको रुपमा आमन्त्रण ग¥यो । मेहलकुनामा हुने महामन्त्रीको बधाइ तथा शुभकामना कार्यक्रममा अतिथिको रुपमा जान पाउनुलाई थानीले विशेष महत्वका साथ हेरे । खड्काकै गढमा उनैका कार्यकर्ताहरुलाई अतिथि बनेर सम्बोधन गर्दै कांग्रेसको सिद्धान्तबारे पाठ पढाए ।
यसैगरि क्षेत्रीय सभापति नारायण कोइरालाको जोडबलमा ढाडखेतमा भएको बधाई तथा शुभकामना कार्यक्रममा थानीले मञ्च प्रयोग गर्ने अवसर पाए भने पश्चिम सालकोटमा समेत दुवै नेता एउटै मञ्चमा देखिए । जहाँ दुवै नेताले संयुक्त सम्बोधन गरे, त्यहाँ कांग्रेस कार्यकर्ताहरु उत्साहित बने भने सिम्तामा महामन्त्री खड्काले मात्रै सम्बोधन गर्ने कार्यक्रममा कार्यकर्ताहरुको न्युन उपस्थिति देखियो ।
महामन्त्री खड्काले आफु राष्ट्रिय राजनीतिको मियो बनिरहँदा थानीसंग आफ्नो प्रतिश्पर्धा नहुने ठानी जिल्लामा मिलेर जाने रणनीति बनाएको देखिन्छ । यसले जिल्ला भित्र राजनीतिक प्रतिद्वन्दिता नबढ्ने निश्कर्ष उनले निकालेको सहज अनुमान गर्न सकिन्छ ।
अर्को केन्द्रमा टिमहरु बन्ने र विघटन हुने अवस्थामा रहेकोले आगामी महाधिवेशनसम्म टिम मिल्न सक्ने अनुमान दुबै नेताले गरेको हुन सक्छन । कोइराला परिवार जवरजस्त रुपमा अगाडि बढ्न खोजेकोले पौडेल र देउवाको इच्छा बमोजिम जिल्लामा एकहदसम्मको सहकार्य गरेर जाने मनस्थितिमा थानी र खड्का पुगेको अनुमान गर्न सकिन्छ ।
यस्तै केन्द्र सरकार र प्रदेश सरकार हरुमा कांग्रेस शुन्यको अवस्थामा पुगेको र कम्युनिष्टहरुको एकता अझै सुदृढ बन्दै जाने अवस्था देखिएकोले कार्यकर्ताहरुमा उत्साह जगाई राख्न मिलापत्र जस्तो देखाउन खोजेको जस्तो समेत देखिन्छ ।
आखिर जे–जस्तो भएतापनि सर्पको खुट्टा सर्पले मात्रै देखेको हुन्छ भन्ने उखान बमोजिम दुबैलाई एक अर्काको सबल र दुर्वल पक्षको बारेमा राम्रो जानकारी रहेको छ ।
यसले गर्दा कांग्रेसको आगामी महाधिवेशनसम्म दुवैको ‘विन–विन’ हुने गरि अघि बढ्ने र दुबैले विजय प्राप्त गर्नेगरिको अल्पकालिन युद्धविरामको रुपमा खड्का र थानीको हालको मित्रतालाई हेरिएको छ ।


दर्शन खबर । २० बैशाख २०७६, शुक्रबार