
काठ्माडौ ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिएकी छिन् । सभामुख चयनको किचलोले झन्डै एक महिनादेखि बन्धक बनेको संघीय संसदको बैठक सुचारु नहुँदा उनले राजीनामा दिएकी हुन ।
उपसभामुखको राजिनामा नआउँदा सभामुखको निर्वाचन कार्यक्रम अघि बढाउन पनि संसद् सचिवालयलाई अप्ठ्यारो पर्ने भएकोलले सचिवालयले उपसभामुखको राजीनामा कुरिरहेको सचिवालयका एक अधिकारीले बताए ।
पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सभामुख चयन हुन नसक्दा ‘बिजनेस’मा प्रवेश गर्न पाएको छैन ।
सभामुख चयनमा सहमति जुटाउन पटकपटक भएका प्रयास असफल भएपछि संसद्को बैठक सूचना टाँगेर स्थगित हुँदै आएको थियो ।
उपसभामुखको राजिनामा लगत्तै सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले १२ गते सभामुखको निर्वाचनको मिति तोकेका छन ।
ठाकुरले मिति तोके लगतै संसद सचिवालयले सभामुख पदका लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।
सभामुखको उम्मेदवारी दर्ताको समय भने मंगलबार विहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।


दर्शन खबर । ६ माघ २०७६, सोमबार