लम्बिदै सिटी बसपार्कको विवाद


सुर्खेत, २२ पौष । सुर्खेत सिटी बसपार्कको टेण्डर तत्काल कार्यान्वयन नगर्न अदालतलेआदेश दिएको छ ।
वषपार्क सञ्चालनका लागी वीरेन्द्रनगर नगरपालिकाले शुरु गरेको टेण्डर प्रक्रिया तत्काल अघि नबढाउन अदालतले अन्तरिम आदेश जारी गरेको हो । बसपार्क क्षेत्रमा व्यावसाय सञ्चालन गर्दै आएका पुराना ५४ व्यावसायीहरुले अग्राधिकारको माग गर्दे अदालतमा निवेदन दिएका थिए ।
उनिहरुको. निवेदनमाथिको सुनुवाईमा उच्च अदालत सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
सिटी बसपार्क निर्माण हुनुअघि (२०६८ साल ) सम्म अस्थायी रुपमा व्यवसाय सचालन गरेका व्यवसायीहरुले नयाँ बन्ने बसपार्कमा नगरपालिकासँगको सम्झौता बमोजिम आफूहरुले प्राथमिकता पाउनुपर्ने अन्तरिम आदेशको माग गर्दै गत पुस १३ गते उच्च अदालतमा रिट दर्ता गरेका थिए ।
अदालतले अन्तरिम आदेश दिने या नदिने भन्ने निर्णयका लागि निवेदक र नगरपालिका दुवैलाई छलफलका लागि सोमबार बोलाएको थियो ।
दुवैतर्फको बहसपछि अदालतले बसपार्क सञ्चालनका लागि गत मंसिर ८ गते नगरपालिकाले प्रकाशित गरेको टेण्डर प्रक्रिया तत्काल अघि नबढाउन आदेश जारी गरेको अदालतले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको मिति २०६९ वैशाख २० गतेको पत्रबाट व्यवसायीलाई प्राथमिकतामा राखी आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउने गरी अंक वितरणको विधि÷मापदण्डसमेत निर्धारण गर्ने गरी छनौट गरिएको अवस्था देखिएको अन्तरिम आदेशमा उल्लेख गरिएको छ ।
न्यायाधीशद्वय नित्यानन्द पाण्डे र सुदर्शन भट्टको संयुक्त इजलासले जारी गरेको सो अन्तरिम आदेशमा व्यवसायीलाई दिएको पत्रबारे नगरपालिकाले खण्डन गर्न सकेको नदेखिएकाले २०७६ मंसिर ८ गते प्रकाशित टेण्डर निवेदनको टुंगो नलागेसम्म यथास्थितिमा राख्न र तत्काल कार्यान्वयन नगर्न÷नगराउन भनिएको छ ।
निवेदकको तर्फबाट बहस गरेका अधिवक्ता नन्द भण्डारीले भोगाधिकार, लगानी र अग्राधिकारको नयाँ बसपार्कमा उनीहरुको पहिलो हक हुने भएकाले नगरपालिकाले जारी गरेको टेण्डर प्रक्रिया रद्ध गरी नगरपालिकाको पूर्व पत्र अनुसार व्यवसायीलाई प्राथमिकता दिनुपर्ने माग गरेका थिए । यसैबीच अदालतको आदेशपछि बस पार्क सञ्चालन विवाद फेरि लम्बिने भएको छ ।
पटक–पटक विवाद र अवरोधपछि गत असारमा निर्माण कम्पनीले बसपार्क नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
तर हस्तान्तरण गरेको ६ महिना बितिसक्दा बसपार्क सञ्चालनमा आउन सकेको थिएन । यसअघिका व्यवसायीहरुले भोगाधिकारमा अग्राधिकारको दाबी गरेपछि सञ्चालन विवाद झन् लम्बिएको थियो । नगरपालिकाले बसपार्क सञ्चालनका लागि कार्य्विधि बनाएसँगै टेण्डर प्रक्रिया शुरु गरेपछि व्यवसायीहरुले पटकपटक आन्दोलन गर्दै आएका थिए ।
व्यवसायीको विरोधका बीच सिटी बसपार्क सञ्चालनको लागि वीरेन्द्रनगर नगरपालिकाले प्रकाशित गरेको टेण्डर पुस २० गते आइतबारमात्र खोलिएको थियो । टेण्डरमा सबैभन्दा बढी मासिक करिब ३१ लाख भाडा तिर्न मञ्जुर गरिएको छ । तर अदालतको अन्तरिम आदेशले सो टेण्डर प्रक्रिया अन्तिम निर्णय नहुञ्जेलसम्म स्थगन हुने भएको छ । नगरपालिकाले बसपार्कमा १२ वटा यातायात व्यवसायी समितिलाई निःशुल्क टिकट काउन्टर दिएको छ । कार्य्विधि अनुसार बसपार्क भाडामा सञ्चालन गर्नेले ५४ वटा सटर, ग्यारेज, रेष्टुरेष्ट, प्रवेश र पार्किङ शुल्क उठाउन पाउने छ ।


तपाईको प्रतिक्रिया