
गुठु, ७ मंसिर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य सेवाको सुधार एवं विकासको काम आफ्नै निर्वाचन क्षेत्रबाट गर्ने बताएका छन् ।
हालसम्म स्वास्थ्य लगायत समग्र विकासमा पछाडी परेको सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट नै स्वास्थ्य क्षेत्रको विकासको सुरुवात गर्ने बताएका हुन् । राज्यमन्त्रि नियुक्त भएपछि पहिलोपल्ट गृह जिल्ला पुगेका रावतले शनिबार साँझ पश्चिम गुठुमा आयोजित नेपाल कम्यूनिष्ट पार्टी चौकुने गाउँपालिका कमिटिको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै विकासका हिसाबले पछाडी परेको सुर्खेत पश्चिमले अब विकासमा फड्को मार्ने बताए । ‘हामीमाँझ स्वास्थ्य सम्बन्धी थुप्रै समस्याहरु छन’ राज्य मन्त्रि रावतले भने,‘आम नागरिकमा सर्वसुलभ स्वास्थ्य सुविधा पु¥याउनका लागि पहिलो सुरुवात सुर्खेत पश्चिमबाटै गर्छु, त्यसपछि कर्णाली र समग्र देश मेरो प्राथमिकतामा पर्नेछ ।’
बधाइ दिन उपस्थित शुभचिन्तक सामू राज्य मन्त्रि रावतले ठूल ठूला आश्वासन दिएनन् बरु उनले स्वास्थ्य सेवा व्यवस्थापनबाट आफ्नो काम सुरु गर्ने बताए । सरकारले यसअघि घोषणा गरेका स्वास्थ्य सम्बन्धीका थुप्रै कार्यक्रमहरु जनताले सहजरुपमा प्राप्त गर्न नसकेको भन्दै आफ्नो कार्यकालको सुरुवात तीनै स्वास्थ्य सेवाको व्यवस्थापनबाट गर्ने उनको भनाइ छ । ‘स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता होे, यसलाई पूरा गर्न सरकार गम्भिर छ । सरकारले निशूल्क औषधीदेखि विभिन्न रोगको उपचारमा सहुलियत दिने निर्णय गरेको छ, तर ती सेवा नागरिकले सहजै पाएका छैनन्’ उनले भने,‘मैले यीनै कार्यक्रमलाई सबै जनताको पहुँचमा पु¥याएर कार्यकालको सुरुवात गर्छु ।’
यसैबीच चौकुने गाउँपालिको स्वास्थ्य शाखाले स्वास्थ्य सम्बन्धि विभिन्न माग राज्यमन्त्रि रावत समक्ष पेश गरेको छ । गाउँपालिकाको वडा नं. ४ मा प्रस्ताव गरिएको अस्पताल निर्माण गर्न स्रो उपलब्ध गराउन, गाउँपालिका अन्तर्गतका भवन नभएका स्वास्थ्य चौकीलाई भवनको व्यवस्था गर्न, एम्बुलेन्सको व्यवस्था गर्न तथा संस्थागत विकास गर्न माग गर्दै गाउँपालिका स्वास्थ्य शाखा संयोजक गगन सिंह पाण्डेले माग पत्र पेश गरेका हुन् ।


दर्शन खबर । ७ मंसिर २०७६, शनिबार