सुर्खेत । आफ्नो जन्मदिनको अवसरमा वीरेन्द्रनगर १६ का युवा तथा समाजसेवी धर्मराज लामीछानेले सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन् ।
उनले वीरेन्द्रनगर नगरपालिका–१६,स्थित श्री बिश्वकाली आधारभूत विद्यालयका ४८ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेका हुन् । उनले विद्यालयका कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई सोमबार विद्यालय परिसरमै आयोजित विशेष कार्यक्रममा पोशाक वितरण गरेका हुन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधीकारी, शिक्षक–अभिभावक सङ्घका अध्यक्ष, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, अभिभावक, विद्यालयका प्रधानाध्यापक , शिक्षक–शिक्षिका तथा विद्यार्थी हरूको उपस्थिति रहेको थीयो ।
कार्यक्रममा बोल्दै समाजसेवी लामीछानेले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई पोशाक वितरण गर्न पाउँदा खुसीको अनुभुति भएको बताएका छन् ।
वीरेन्द्रनगर नगरपालिका–१६ मा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेका लामीछानेले आफ्नो व्यक्तिगत आयस्रोत र पूर्ण रूपमा आफ्नै इच्छाबाट विद्यार्थीहरूलाई पोशाक वितरण गर्ने अवसर पाउनु गर्वको विषय भएको बताएका छन् ।
उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वमा आधारित कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।


दर्शन खबर । १६ असार २०८२, सोमबार