काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामै रेमिट्यान्स (विप्रेषण) बाट साढे १३ खर्ब रुपैयाँ भित्र्याएको छ। नेपालमा रेमिट्यान्स भित्रिने मात्र होइन नेपालमा काम गर्ने विदेशीले यहाँबाट बर्सेनी ठूलो रकम रेमिट्यान्सका रूपमा लैजाने गरेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनदेखि वैशाखसम्मको अवधिमा नेपालमा काम गर्ने विदेशी कामदारले आठ अर्ब ४६ करोड रुपैयाँ आफ्नो मुलुकमा लगेका छन्। उल्लिखित रकम औपचारिक माध्यमबाट बाहिरिएको रकम मात्र हो। अनौपचारिक माध्यमबाट बाहिरिने रकम योभन्दा धेरै ठूलो छ। खासगरी नेपालमा कार्यरत भारतका कामदारले त्यस्तो रकम लैजाने गर्छन्। नगद र अनौपचारिक माध्यमबाट यस्तो रकम बाहिरिने भएकाले यसको औपचारिक तथ्याङ्क छैन।
दुई हजारभन्दा बढी विदेशी कामदार नेपालमा अहिले दुई हजारभन्दा बढी विदेशी कामदारले कानुनी रूपमा श्रम अनुमति लिएर काम गरेको पाइएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आवको ११ महिनामा दुई हजार ३६७ विदेशी नागरिकले नेपालमा काम गर्ने अनुमति (श्रम स्वीकृति) लिएका छन्।
यो अवधिमा ८१५ जनाले नयाँ श्रम स्वीकृति र एक हजार ५४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। गत वर्ष सो अवधिसम्म नयाँ र नवीकरण गरी दुई हजार ३३६ श्रम स्वीकृति लिएका थिए । एक वर्षमा ३१ जना विदेशी कामदार बढेको देखिन्छ।


दर्शन खबर । १२ असार २०८२, बिहीबार