काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपलचनको आरोप खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदैछ ।
जिल्ला अदालत कास्कीको आदेशबमोजिम आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका लामिछानेको थुनछेक बहस हुन नसकेपछि न्यायाधीश माधव अधिकारीले सोमबारबाट त्यसलाई अघि बढाउने निर्णय गर्दै उनलाई न्यायिक हिरासत पठाउन आदेश दिएका थिए । सोहीअनुरूप सोमबार कार्यालय समय सुरु हुनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो । जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस पोखरामा जस्तो लामो नबनाएर छोटो बनाउने रवि पक्षका वकिलको तयारी छ ।
जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटीमा रिहा भएका लामिछानेलाई काठमाडौंमा सहकारी ठगी र संगठित अपराधको दुई अभियोग लगाएर मुद्दा दायर गरिएको छ ।
सोमबारबाट सुरु हुने थुनछेक बहस सम्पन्न भएपश्चात साधारण तारिख र धरौटीमा रिहा गर्ने या पुर्पक्षका लागि कारागार चलान गर्नेमध्ये एक निर्णय हुनेछ ।


दर्शन खबर । २९ पुष २०८१, सोमबार