चितवनलाई हराउँदै कर्णाली एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश

सुर्खेत । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले पराजित गर्दै कर्णाली क्वालिफायर-२ मा प्रवेश गरेको हो ।

अब कर्णालीले क्वालिफायर-१ मा पराजित भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले पूरै ओभर खेलेर ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले ५३ रन बनाए । कप्तान कुशल मल्लले २१, विपिन रावलले १८ र लुक बेन्केन्सटाइनले १६ रन बनाए ।

कर्णालीका लागि जिशान मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए ।यसअघि कर्णालीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । कर्णालीका लागि जयकिशन कोसावाला र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । कोसावालाले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए ।

विलियम बोसिस्टोले ३७ बलमा अर्धशतक पूरा गरे । सो क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे । उनले ५२ रनको योगदान गरेका छन् । विस्फोटक ब्याटिङ गरेका च्याडविक वाल्टनले २३ बलमा अविजित ४६ रन बनाए । चितवनका लागि भने सोहेल तानबिरले २ तथा कप्तान कुशल मल्ल, शरद भेषवाकर र रवि बोपाराले १–१ विकेट लिए ।


तपाईको प्रतिक्रिया