
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ का गाउँबस्तीसम्म पुग्ने सडक पूर्वाधार अवस्था कमजोर छ । ग्रामिण सडक पुगेपनि गाउँगाउँसम्म सवारी साधन पुग्न भने अझै सकेका छैनन् । यहाँका स्थानीयहरु विरामी हुँदा समेत तत्काल एम्बुलेन्स सेवा पाउँदैनन् । यसले विशेषगरी सुत्केरी महिलाहरुलाई प्रत्यक्ष असर पर्दै आएको छ ।
वीरेन्द्रनगर १६ मा ९ वटा टोलहरु छन् । अधिकाँस टोलहरुमा विरामीलाई हस्पिटलसम्म लैजान स्टेचरकै भर पर्नुपर्ने अवस्था छ । पर्याप्त स्टेचर नहुँदा कतिपय विरामीहरुलाई अस्पतालसम्म लैजान पनि समस्या हुँदै आएको छ । यहि समस्यालाई समाधान गर्न का लागि स्थानीय युवा धर्म राज लामिछानेकाे अग्रसरता मा यतिबेला युवाहरुले सहयोग उठाएर टोलटोलमा स्टेचर प्रदान गरेका छन् ।
सोमबार वडाका नौ ओटा टोल र स्वास्थ्यचौकीमा गरी १० ओटा स्टेचर प्रदान गरिएको छ । स्टेचर सहयोग गर्नेमा वीरेन्द्रनगर १६ का याम बहादुर रास्कोटी, देवीलाल खराल, धर्मराज लामिछाने, टिकाराम राना, वीरेन्द्रनगर १० का प्रकाश कुमार शाही, वीरेन्द्रनगर ४ का विशाल हमाल, वीरेन्द्रनगर १० का मिलन भण्डारी, वीरेन्द्रनगर ११ का योगेश नारायाण चपाईँ, सनम शर्मा र हुम्लाको सर्केगाड २ का धन बहादुर कार्की रहेका छन् ।

स्थानीय युवाहरुको पहलमा विभिन्न युवाहरुको सहयोगमा भएको स्टेचर वितरणले गाउँमा विरामी हुँदा स्वास्थ्यचौकीसम्म लैजान सहयोग पुग्ने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशको राजधानीमा पर्ने वडा भएपनि यो वडा अझै विकासका दृष्टिकोणले पछाडी परेको छ । सुत्केरी र विरामीलाई डोकोमा बोक्नपर्ने अवस्थाको अन्त्य गर्न स्टेचर वितरण गरिएको र यसमा स्थानीय सरकारको पनि ध्यानाकर्षण होस भन्ने अपेक्षा गरेको सहयोगी युवाहरुले बताएका छन् ।
टोलटोलमा स्टेचर वितरण भएसँगै स्थानीय नागरिकहरुले समेत खुसी व्यक्त गरेका छन् । विरामीलाई हस्पिटलमा समयमै लिन नसक्दा धेरैको ज्यान जाने गरेको सम्झदै स्टेचरले स्वस्थ्यचौकीसम्म लैजान मदत पुग्ने स्थानीयले बताएका छन् । साथै युवाहरुलाई आगामी दिनमा गाउँघरसम्म एम्बुलेन्स सेवासम्म ल्याउनका लागी पहल गर्न समेत अनुरोध गरेका छन् ।
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, जनप्रनिधि, टोल विकासका अगुवाहरु, महिला स्वंयमसेविका लगायतका स्थानीयहरुको उपस्थिती रहेको थियो ।
आफ्नो वडा तथा आफ्नो गाउँको बिकास को लागी यहांँका युवा सक्रिय भएका छन् ।
यस अघि पनि बिपतको समयमा लामिछानेकै पहल मा स्थानीय युवा हरु मिलेर गाउँलाई सहयोग गर्ने गरेका छन् । बर्षातमा बाटोमा खसेको पहिरो सोर्ने, बिद्यालय पाता उदाउँदा सम्बन्धित निकाय सङ पहल गरि बिद्यालय काे छाना छाउने, निम्न आय स्रोत तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने लगायत का काम हरु गर्दै आएका छन् ।
युवाहरूले गरेको काम प्रशंसनीय रहेको र यसलाई निरन्तरता दिन स्थानीयले अनुरोध गरेका छन् ।


दर्शन खबर । १७ मंसिर २०८१, सोमबार