कर्णालीका तीन जिल्ला मात्रै खाद्यान्नमा आत्मनिर्भर


सुर्खेत । कर्णालीका तीन जिल्ला मात्र खाद्यान्न आत्मनिर्भर भएको सरकारी तथ्यांकले देखाएको छ। जिल्लामा उत्पादन हुने अन्नले खाना पुग्ने अवस्थामा सुर्खेत, सल्यान र दैलेख मात्र रहेको कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

कर्णालीलाई पूर्णरूपमा खाद्यान्नमा आत्मनिर्भर हुन तीन लाख ४४ हजार ३२४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले जानकारी दिए। अन्य सात जिल्लालाई आफ्नै उत्पादनले वर्षभर धान्न सक्ने अवस्था नरहेको पाण्डेले बताए। ९१ हजार ३३ मेट्रिक टन खाद्यान्न उत्पादन हुने सुर्खेत खाद्यान्नमा आत्मनिर्भर छ। सुर्खेतमा चार हजार ८६७ मेट्रिक टन मौज्दात रहने गरेको निर्देशनालयले जनाएको छ।

त्यसैगरी, खाद्यान्नमा आत्मनिर्भर अर्को जिल्ला सल्यान हो। सल्यानमा वार्षिक ४७ हजार ७८८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने भए पनि ५२ हजार ३७४ मेट्रिक टन उत्पादन हुने गरेको छ। पाण्डेका अनुसार दैलेखमा पनि वार्षिक ५६ हजार ८१२ मेट्रिक टन उत्पादन हुन्छ। दैलेखलाई ५० हजार ३६१ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ। अन्य सात जिल्ला भने खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन्।

तपाईको प्रतिक्रिया