नेपाली महिला टिमबाट शतक बनाउने पहिलो क्रिकेटर बनिन् रुविना

काठमाडौं । एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध नेपालले कीर्तिमानी २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार मलेसियाको बांगीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रन बनायो ।

नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो । नेपालले यसअघि सन् २०२१ मा कतारविरुद्ध बनाएको १६४ रनको योगफलको कीर्तिमान तोडेको हो ।पूर्वकप्तान समेत रहेकी रुविना क्षेत्री बेलबासेले पनि कीर्तिमानी प्रदर्शन गरिन् । माल्दिभ्सविरुद्ध ११८ रनको अविजित इनिङ्स खेलेकी रुविना नेपाली महिला टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो ब्याटर बनिन् । रुविना माल्दिभ्सविरुद्ध ५९ बलमा ११८ रनमा अविजित रहिन् । उनले यसअघि सीता रानामगरको नाममा रहेको ८२ रनको कीर्तिमान तोडेकी हुन् ।

माल्दिभ्सविरुद्ध पूजा महताले ३६ बलमा ५९ रन जोडिन् । राष्ट्रिय टिमबाट पूजाको पनि यो पहिलो अर्धशतक हो । नेपाली टिमको खातामा सीताले १५, कविताले १३ र डोली भट्टले ६ रन थपे । कप्तान इन्दु वर्मा भने ‘गोल्डेन डक’ भइन् ।

तपाईको प्रतिक्रिया