अवैध मार्गबाट भित्रिएका मोबाइल सेट चल्न नदिने सञ्चारमन्त्रीको अडान

सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विदेशबाट तस्करी भएर भित्रिएका मोबाइल सेट चल्न नदिन ‘मोबाइल डिभाइस म्यानेमेन्ट सिस्टम’ (एमडिएमएस) आवश्यक रहेको बताएकी छन् ।

सिंहदरबारमा बिहीबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले तस्करीबाट आएका मोबाइल नचल्ने बनाउँदा राजस्व वृद्धि हुने बताइन् ।

उनले भनिन्, ‘एमडिएमएस हामीले लागू गर्ने विषय नै हो भनेर बुझेकाले यो प्रक्रिया अगाडि बढाएका हौँ । वैदेशिक रोजगारमा गएर आउने श्रमिकलाई एउटा मोबाइल अतिरिक्त ल्याउन दिने भनेर मन्त्रिपरिषद्बाट निर्णय भएको छ ।

यसमा खास रोक्न खोजेको के हो भने, जुन तस्करीबाट र अन्य अवैधानिक बाटोबाट आउँछन्, त्यसलाई नियन्त्रण गर्न एमडिएमएस आवश्यक परेको हो । यसले राजस्वको दायरामा पनि वृद्धि हुन्छ भन्ने हाम्रो विश्वास छ ।’खुला सीमा भएका कारण तस्करी बढेको भन्दै यसलाई नियन्त्रण गर्न एमडिएमएस लागू गर्न खोजिएको उनको भनाइ थियो ।

एमडिएमएसका लागि आवश्यक स्रोत र साधन खरिदको प्रक्रियाले व्यावहारिकता नपाएको भन्दै उनले दूरसञ्चार प्राधिकरणमाथि छानबिन र कारबाही गर्ने अधिकार सञ्चार मन्त्रालयको नभएको स्पष्ट पारिन् ।

रास्वपा सांसद सुमना श्रेष्ठले उठाएको सञ्चार मन्त्रालयअन्तर्गतका निकायको अनुगमन र कार्यसम्पादन मूल्यांकन किन नगरिएको ? भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भनिन्, ‘हामीले सञ्चार मन्त्रालयअन्तर्गत रहेका निकाय तथा एजेन्सीको हरेक वर्ष अनुगमन र मूल्यांकन गरेकै छौँ । कार्यसम्पादनमा कमजोर भएका विषयलाई के गर्ने भन्ने अन्योल छ । तर, हामीले सम्बन्धित ठाउँमा रिपोर्टिङ गर्नुपर्नेछ । ’

संविधानअनुसार कारबाहीका लागि अख्तियार र अदालतको स्पष्ट व्यवस्था रहेको उनले उल्लेख गरिन् ।

तपाईको प्रतिक्रिया