बनगाड कुपिण्डे नगरपालिका आफ्नै प्रशासनिक भवनमा

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका आफ्नै नवनिर्मित प्रशासनिक भवनमा सरेको छ। आफ्नै प्रशासनिक भवन नहुँदा साविक देवस्थल गाविस भवनबाट सेवा प्रवाह हुँदै आएको थियो।

आज एक कार्यक्रमबीच नवनिर्मित प्रशासकीय भवनको उद्घाटन नगरप्रमुख बुढाथोकीले गरे।

नगरपालिकाको आफ्नै स्रोतबाट ७ करोड २२ लाख लागत स्टिमेट अनुसार भवन एसोसियट जय भवानी जेभीले ५ करोड २९ लाख ६८ हजार ८४७ रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो। १ वर्ष ६ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरे पनि दुई वर्षको कोरोनाको लकडाउनले गर्दा भवन निर्माणमा ढिलाइ भएको थियो।

नवनिर्मित प्रशासकीय भवन साढे तीन तलाको रहेको छ भने २८ वटा कोठासहित बैठक हल रहेको इन्जिनियर महेश देवकोटाले जानकारी दिए।

नगरपालिकाले अब नयाँ प्रशासकीय भवनबाट दिँदा सेवाग्राहीलाई सहज हुने नगरप्रमुख बुढाथोकीले बताए। उनले नगरपालिकाको भवन मात्र नभएर नगरभित्र रहेका सबै वडा कार्यालय र विभिन्न भवन निर्माण गर्नमा जोड दिएको बताए।​

उद्घाटन कार्यक्रममा वनगाड कुपिण्डे नगरपालिकाको प्रशासकीय भवन तथा संरचना निर्माणका लागि जग्गा दान गर्ने जग्गादाताहरू कोकिलाकुमारी बिष्ट, रुमलाल, नकाल क्षेत्री, भोनसी नगाल, जगबहादुर नगाल, खिमबहादुर नगाल, मनवीर पुन र बोधबहादुर बिष्टलाई सम्मान गरिएको छ।

तपाईको प्रतिक्रिया