कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्।

नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामापत्र बुझाएका हुन्।

राजीनामापत्रमा कार्कीले प्रदेशको स्थायित्व, दलीय सहकार्य र सद्भावमार्फत सुशासन कायम गर्न तथा जातीय, धार्मिक एवं सास्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भनेर विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिएको उल्लेख गरेका छन्। कार्की सर्वोच्च अदालतको परमादेशअनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दावी गर्न नपाउने कानुन व्यवसायीहरुको धारणापछि राजीनामा दिने निर्णयमा पुगेको एमालेका एक प्रदेशसभा सदस्यले बताए।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्र्थापनाको फैसला गर्दा उपधारा ३ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त नगरेको वा निजले सो प्रकृया परित्याग गरेको अवस्थामा उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति हुने दावी पेश गर्न नमिल्ने फैसला गरेकोले राजीनामा दिँदा ५ को मुख्यमन्त्री दावी गर्न सकिने देखेर कार्कीले राजीनामा दिएका हुन्।

तपाईको प्रतिक्रिया