सरकारकै डिजाइनमा सुनको धन्दा चलेको छ : शङ्कर पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकार नै सुन तस्करीमा लागेको भन्दै सुनको अवैध कारोबार गर्न पशुपतिनाथ मन्दिरको जलहरी सुनकाण्ड बाहिर ल्याएको आरोप लगाएका छन् ।
आज वीरेन्द्रनगरमा ’पत्रकारसँग कफी र कुरा’ विषयक अन्तक्रीया कार्यक्रममा सरकारकै डिजाइनमा सुनको धन्दा चलेको बताए । महासचिव पोखरेलले धार्मिक आस्था भएको स्थानको सुनको जलहरी निकालेर जोख्नुपर्ने परिस्थितिले सांसद कति झुट रहेछन् भन्ने तथ्य प्रमाणित भएको बताए ।
‘सरकारले अनुदान मात्र ३० करोड दिएको हो । खर्च अर्बौं भएको छ । जुन पशुपति विकास कोषबाट भएको थियो’, उनले भने, ‘रोष्ट्रमबाट सुन पित्तल हो भनियो, तर पछि बिस्तारै सुनको अवैध कारोबार सरकारबाटै हुँदो रहेछ भन्ने तथ्य बाहिर आयो ।’
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विमानस्थलमा तीन ठाउँबाट विद्युतीय सूचना रेकर्ड गर्ने व्यवस्था मिलाएको तर, वर्तमान सरकारले सो व्यवस्था बन्द गरेर तस्करीलाई संरक्षण दिएको उनले बताए ।
दुई महिनामा यति ठूलो परिणाममा सुन तस्करी हुनुले यो प्रकरणमा सत्तापक्षकै संलग्नता छ भन्ने निष्कर्षका आधारमा एमालेले उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राखेको पोखरेलको भनाइ छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गृह मन्त्रालयको नक्कली प्रतिवेदनका आधारमा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु गरेको दाबीसमेत उनले गरे । ‘नक्कली भुटानी शरणार्थी प्रकरण अमेरिकन एजेन्सीहरूका हातमा परेर सक्रिय भएपछि हामीले तत्थ्य बाहिर गएर जसको ओइरो दिन हतारियौँ,’ उनले भने, ‘नक्कली भुटानी शरणार्थीको मुद्दामा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु गरियो । गृहको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम गरियो ।’

तपाईको प्रतिक्रिया