सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १६ मा खलाकाटेदेखि वडा कार्यलयसम्म जोड्ने सडकको गडेले खोलामा बनेको पुलले सडकका किनारहरु नजोड्दा स्थानीयहरुलाई आवातजावतमा सास्ती भएको छ ।
वीरेन्द्रनगर १६ को गडेले खोला २९ लाख ४४ हजार ६ सय ८८ रुपैयाँ लागतमा बनेको यो पुलको निमार्ण कार्य सम्पन्न भएको करिब डेढ महिना वितिसक्दा पनि पुलले सडकका दुई किनारसम्म जोडेको छैन । २०८० बैशाख १७ गते यो पुल निमार्णकाे सम्झौता भएर चामुण्डा निमार्ण सेवाले निर्माण सुरु गरेको थियो । यो पुल जेठ ३२ गते निमार्ण सम्पन्न भएको भनिएको छ । यदपी यो पुल अझै पनि संचालन हुने अवस्थामा रहेको छैन । यो पुललाई लिएर अहिले आलोचना पनि भइरहेको छ ।
यो पुलको संरचनालाई लिएर आलोचना भइरहदा बर्षाको समयमा यस वडाका स्थानीयहरुले आवतजावतमा निकै सास्ती भोगेको परेको बताउँछन् । निमार्ण कम्पनीको इस्टिमेटमा पुल छेउमा बनेका खाल्डाहरुलाई पुर्ने पनि भनिएको छ तर, पुल निमार्ण कार्य सम्पन्न भएको भनेर भुक्तानी समेत भईसक्दा पुलको किनारमा भने ठुला खाल्डाहरु रहेका छन् । यता वीरेन्द्रनगर १६ का वडाअध्यक्ष डण्ड बहादुर बिकले पुल निमार्ण गर्दा केही अवरोध आउँदा यस्तो भएको बताए । उनले भने ‘पुलको छेउमा रहेका दुबै खाल्डाहरु पुर्नलाई माटो भर्नुपर्ने हुन्छ । निमार्ण कार्य भईरहदा स्थानीयले उक्त क्षेत्रमा धानको विउ राखिरहेको र पानीको कुलोमा असर पर्ने हुँदा खाल्डाहरु पुर्ने काम गर्न नसकेको हो’ ।


दर्शन खबर । १७ श्रावण २०८०, बुधबार