सुर्खेत, १४ असोज । सुर्खेतका थारु समुदाय यतिखेर दसंैसँगै जोडिएको सखिया नाचको तयारीमा जुटेका छन् । थारु समुदायले सखिया नाचलाई महत्वका साथ लिने गर्छन् । सखिया नाच घटस्थापना लागेसँगै सुरु गरिन्छ ।
थारु गाउँका भलाद्मी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यका लागि छलफलपछि नृत्यको सुरुवात हुने गर्छ । तर आजभोलि समुदायमा भएका क्लब तथा युवाहरूको समूहले पनि नाचको सुरुवात गर्ने गरेका छन् । बडघर तथा गुरुवाको घरबाट नाचलाई सुरुवात गर्दै गाउँका सबै घरमा नाच पु¥याइन्छ । भगवान्को नाम जप्दै नाँचिने सखिया नाच घर–घरमा पु¥याइने मूल्यमान्यता रही आएको वीरेन्द्रनगर–१०, का जीतबहादुर चौधरीले बताए । उनले भने, ‘पहिले–पहिले महिनौंसम्म नाच नाच्ने गरिन्थ्यो । तर अहिले खेतीपाती तथा दैनिक कामकाजमा समय अभाव हुने भएकाले दसैंमा केही दिनका लागि मात्र नाच्ने गरेका छौं ।’
पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आइएकोमा खर्च बढी लाग्ने र बढी समय खेल्दा पट्यार लाग्ने भएपछि हाल सखिया नृत्यलाई छोट्याएर पाँच दिनदेखि १० दिनमा सीमित गरिएको वीरेन्द्रनगर–१०, का थारु युवा युवराज चौधरीले बताए ।
रमाइलोका लागि मात्रभन्दा पनि भूतप्रेत तथा रोग हट्छ भन्ने विश्वासले थारु समुदायले यो नाच नाच्ने गरेको वीरेन्द्रनगर–१०, का अर्का युवा नरेश चौधरीले जानकारी दिए । पहिले–पहिले भदौ महिनादेखि दसैंको पूर्णिमासम्म नाँचिने सखिया नाच आजभोलि भने दसैंमा मात्र नाच्ने गरिन्छ । थारु समुदायमा वैशाखदेखि भदौसम्मका महिनालाई कालरात्रिको रूपमा लिइन्छ ।
यस समयमा विभिन्न रोगहरू लाग्ने तथा भूतप्रेतको डर हुने थारु समुदायमा मान्यता रहँदै आएको छ । त्यसैले रोग हटाउन र भूतप्रेत लखेट्ने मान्यताअनुसार सखिया नाच नाच्ने प्रचलन रहिआएको थारु युवा नरेशले जानकारी दिए । सखियामा जहाँसम्म मादल र गीतको आवाज पुग्छ, त्यहाँसम्म भूतप्रेत नआउने धानबालीमा किरा फट्यांग्रा नलाग्ने मानिसलगायत पशुपंछीलाई आनन्द तुल्याउने मान्यता रहेको उनको भनाइ छ ।
दसैंको टीकामा थारुहरूले छानेका अगुवाका घरमा जम्मा भइ अगुवाले टीका लगाइदिएपछि यो नाच नाच्ने गरिन्छ । यो नाच नाच्न महिलाहरू जम्मा भएर सेतो सारी, रातो ब्लाउजमा र गरगहनामा सजिएर अगुवाका घरमा गई नाच्ने प्रचलन छ । सुर्खेतका केही थारु समुदायमा पहिले एक महिनासम्म नाच्ने सखिया नाच आजभोलि भने दसैंमा घट्स्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म कायम गरिएको छ ।
दसैंको अवसरमा प्रायः थारु गाउँमा सखियाको चहलपहल हुने गर्छ । गाउँमा सखिया नाच भएपछि छुट्टै उत्साह र उमंग थपिएको हुन्छ । कर्णालीपत्रबाट



दर्शन खबर । १४ आश्विन २०७६, मंगलवार