मलको अनुदान नघटाए किसान सम्वद्ध महासंघहरूले आन्दोलन गर्ने

काठमाडौं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान घटाए धर्ना, जुलुस, चक्काजाम जस्ता कार्यक्रम देशव्यापी आयोजना गर्ने किसानसँग सम्बन्धित महासंघहरूले निर्णय गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ, नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन र राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
रासायनिक मलमा दिँदै आएको अनुदान रकम यथावत नराखे स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजाम लगायतका कार्यक्रम देशव्यापी आयोजना गर्ने बताइएको छ । रासायनिक मलमा दिँदै आएको अनुदान फागुन २६ गतेअघिकै कायम गर्न चैत ३ गते केन्द्रमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुका  साथै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताएका छन् ।
सरकारले गत फागुन २६ गते रासायनिक मलमा दिने अनुदान रकम घटाउने निर्णय गरेको थियो । त्यसअघि मलमा सरकारको अनुदानका रूपमा ७० दशमलव ८२ प्रतिशत दिँदै आएको थियो भने अब घटेर ५९ दशमलव ०४ प्रतिशत कायम भएको छ ।
उक्त निर्णय हुनुअघि सरकारले युरियामा करिब ८० प्रतिशत, डीएपीमा करिब ६० प्रतिशत र पोटासमा करिब ५९ प्रतिशत अनुदान दिँदै आएको थियो । हाल सरकारले ११ दशमलव ७८ प्रतिशत अनुदान कटौती गरेको छ ।बढाइएको मूल्यअनुसार युरियाको मूल्य प्रतिकेजी २५ रुपैयाँ, डीएपीको मूल्य प्रतिकेजी ५० रुपैयाँ र पोटासको मूल्य प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ । यसअघि, युरिया प्रतिकेजी १४ रुपैयाँ, डीएपी प्रतिकेजी ४३ रुपैयाँ र पोटासको मूल्य प्रतिकेजी ३१ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया