सुर्खेत । वीरेन्द्रनगरमा मिनिट्रकले ठक्कर दिँदा दुई जना घाईते भएका छन् । घाईते हुनेमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का अन्दाजी ४२ वर्षका कृष्ण चौधरी र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का अन्दाजी ४९ वर्षका बुद्धिराम थारु रहेका छन् । सोमवार बिहान ९ बजेको समयमा सामान लोड गरी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० घुस्रा स्थित बामेखोलाबाट तिनकुने तर्फ आउँदै गरेको भे १ ख १५२८ नम्बरको मिनि ट्रकले उनीहरुलाई ठक्कर दिएको हो । घाईते भएका दुवै जनालाई माया नर्सिङ्ग होममा सामान्य उपचारपछि प्रदेश अस्पताल कालागाउँ लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घाईते मध्ये चौधरीको बाँयाखुट्टा र शरिरको विभिन्न भागमा चोट लागी अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले दर्शन खबरलाई जानकारी दिए । मिनिट्रक विजुलीको पोलमा ठाेक्किएपछि उनीहरुलाई ठक्कर दिएको प्रहरीको भनाई छ । ट्रक र ट्रक चालक जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका १० बस्ने ३६ वर्षका रबि सार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको डिएसपी शाहीले जानकारी दिए ।


दर्शन खबर । १५ फाल्गुन २०७९, सोमबार