सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ११ स्थित स्वास्थ्य चौकीमा ग्याविन पर्खाल निर्माणमा अनियमितता भएको ठहर गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा आरोपपत्र दायर गरेको छ । नक्कली विल भरपाई बनाई सात लाख सन्ताउन्न हजार बढी रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको अख्तियारले दाबी गरेको छ । प्रवक्ता श्यामप्रसाद भण्डारीले शुक्रवार जारी गरेको विज्ञप्ति अनुसार ग्याविन पर्खाल निर्माण कार्य गर्दा हुँदै नभएको कार्यलाई नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा भरपाई बनाई सात लाख सन्ताउन्न हजार तीन सय सात रुपैयाँ बैसठ्ठी पैसा रकम भुक्तानी लिएको पाइएको छ । छायाँनाथ रारा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्ल, इन्जिनियर पदम बहादुर बुढा र सव–ओभरसियर (करार) गड बहादुर बुढालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र विगो बमोजिमको जरिवाना गरी विगो असुल उपर गर्न मागदाबी लिइएको छ।
यसै गरी छायाँनाथ रारा नगरपालिकाका तत्कालीन नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक सुन्तला रोकाया, १३ नं. वडा कार्यालयका तत्कालीन वडा अध्यक्ष तथा अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, तत्कालीन कार्यपालिकाका सदस्य तथा अनुगमन समितिका सदस्यहरु हजरकला कामी र हरिनी नेपालीले हुँदै नभएको कार्यलाई निर्माण सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन प्रतिवेदन पेश गरी रकम भुक्तानी लिने दिने कार्य गरी सात लाख सन्ताउन्न हजार तीन सय सात रुपैयाँ बैसठ्ठी पैसा रकम हिनामिना गरी नेपाल सरकारलाई हानि नोक्सानी गरेको देखिन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना गर्न मागदाबी गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै, नभए नगरेका कुरा देखाइ गलत सिफारिस गरी रकम भुक्तानी लिने दिने कार्य गरेका छायाँनाथ रारा नगरपालिका, वडा नं. ११ का तत्कालीन वडा अध्यक्ष दानबहादुर बुढालाई समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम कैद र विगो बमोजिम जरिवाना गर्न मागदावी गरिएको छ ।
यसै गरी अख्तियार अनुसन्धान आयोगले उपभोक्ता समितिका अध्यक्ष जीवनबहादुर बुढा, सचिव केशबहादुर बुढा र कोषाध्यक्ष सृजना बढुवालले स्वास्थ्य चौकी ग्याविन पर्खाल निर्माण कार्य गर्दा झुट्टा भरपाई बनाई रकम भुक्तानी लिने दिने कार्य गरी रकम हिनामिना गरी नेपाल सरकारलाई हानि नोक्सानी गरेको देखिएकोले निजहरुलाई भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी विगोसमेत जफत गर्न मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८, दफा २९ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारीले जारी गरेको विज्ञिप्तमा जनाइएको छ ।


दर्शन खबर । १२ फाल्गुन २०७९, शुक्रबार