हुमबहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिकाकाले पिपिआर रोग विरुद्ध भ्याक्सिन अभियान सुरु गरेको छ । गुर्भाकोट नगर पशु शाखाले यही माघ तेस्रो साताबाट १४ वटै वडा भित्रका खसी बाख्रालाई पिपिआर भ्याक्सिन लगाउन सो अभियान सुरु गरेको हो । गुर्भाकोट नगर पशु शाखाका अधिकृत ओम प्रकाश वलिले गुर्भाकोटका १४ वडा भित्र १० हजार खसी बाख्रालाई भ्याक्सिन लगाउने अभियान सञ्चालन भएको बताए । यसैगरि सो अभियानमा भ्याक्सिनेटर मा नगर बाट ३ जना कर्मचारी खटिएका छन् । साथै अधिकांश वडामा अभियान सञ्चालन भइसकेको र अब एक हप्ता भित्र सम्पन्न हुने समेत वलिले जानकारी दिए । नगरपालिकाले निःशुल्क भ्याक्सिन उपलब्ध गराएको छ । भ्याक्सिनेटरलाई प्रति भ्याक्सिन ५ रुपैयाँका दरले पारिश्रमिक समेत उपलब्ध गराइएको छ ।
नेपाल सरकारले २०५८२०५९ देखि राष्ट्रिय पिपिआर रोग नियन्त्रण कार्यक्रम मार्फत बर्सेनि भेडाबाख्रामा खोप लगाउँदै आएको ग्रामीण पशु कार्यकर्ता शुकदेब पौडेलले बताए । पौडेलले भने, ‘‘पिपिआर भेडाबाख्रामा लाग्ने महामारी रोग हो, नेपालमा यो रोगको संक्रमण देखा परेदेखि पशुधनको व्यापक क्षति हुँदै आएको छ ।’ डेढ दशकअघि पहिलो पटक धनुषामा यो रोगको प्रकोप देखिएको थियो । त्यसपछि क्रमशः अन्य जिल्लामा पनि देखा पर्न थालेको हो ।”यो भ्याक्सिन लगाएपछि एक वर्षसम्म खसी–बाख्राको इम्युनिटी पावर बढ्नुका साथै पिपिआर रोग लाग्न समेत नदिने भेटेनरी डाक्टरहरु बताउँछन् । पिपिआर लागेका भेडाबाख्रामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँस नखाने र उग्राउन छाड्ने, आँखामा कचेरा लाग्ने बाक्लो सिंगान बग्ने, निमोनिया हुने, पेटको बलले सास फेर्ने, गिजा मुखभित्र घाउ देखिने र छेरौटी लाग्ने जस्ता लक्षण देखिन्छन् ।


दर्शन खबर । १० फाल्गुन २०७९, बुधबार