काठमाडौं । लोकगायक विष्णु खत्रीले आफू राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । बुधवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू अब कहिल्यै प्रतिष्ठानको ढोका ढक्ढकाउन नआउने निर्णय गरेको घोषणा गरेका हुन् । लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन नजिकिँदै गर्दा गायक खत्रीले आफू संस्थाबाट बाहिरिएको घोषणा गरेका हुन् ।संस्थागत सिकाई र अनुभवको आधारमा कलाकारहरूको हक हितका लागि केही गर्ने खोँचले लगातार अध्यक्ष पदका लागि मैदानमा उत्रिए पनि आफ्नो योजनामाथि वज्रपात भएको उनले बताएका छन् । प्रतिष्ठानमा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिव र एक कार्यकाल महासचिव पदमा रहेका गायक खत्री बद्री पंगेनी, चन्द्र शर्मा र हालका अध्यक्ष रमेश बिजीसँग अध्यक्ष पदमा पराजित भएका थिए । ‘उमेरको उर्जाशिल समय संस्थालाई हुर्काउन, बढाउनकै निम्ति, घरपरिवार भन्दा संस्थालाई शिरमा राखेर आर्थिक, भौतिक, नैतिक र सांस्कृतिक रुपले त्याग र समर्पण गरेकोले पनि एकचोटी संस्थाको नेतृत्व लिएर कलाकार र कलाकारिता जगतको उत्थानका लागि केही गर्ने दृढ सोंच संकल्प र अठोट लिएको थिएँ’
उनले लेखेका छन्, ‘तर मेरो उक्त योजनामाथि वज्रपात हुन पुग्यो ।’ गायक खत्रीले यस पाली अग्रज कलाकारबाट नेतृत्वमा आउन आफूप्रति केही सद्भाव रहन्छ की भन्ने झिँनो आशा राखे पनि त्यो नभएको गुनासो गरेका छन् । ‘न त अनुजले नै अग्रजको सम्मान गरेर भुमिका दिने कुनै मनसाय देखियो । संस्थाको नाराले मलाई नै गिज्याएको अनुभूति भयो’ उनले भनेका छन्, ‘अब फेरि अनुज भाइबहिनीसँग चुनावी प्रतिस्पर्धामा होमिनु शोभनिय नहुने र मेरो नैतिकताले पनि यसो गर्नु उचित नहुने मेरो ठम्याई छ ।’ उनले सांगठनिक र भावनात्मक रुपले संस्थाको यात्रामा पूर्णविराम लगाएको उल्लेख गरेका छन् । अगाडि लेखेका छन्, ‘अब कहिल्यै प्रतिष्ठानको ढोका ढक्ढकाउन नआउने निर्णय गरी आजैका मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णविराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु ।’ गायक खत्री यति बेला गीतसंगीत सम्बन्धी नयाँ संस्था खोल्ने तयारीमा छन् ।
यस्तो छ गायक खत्रीको स्टाटस
आदरणीय लोक संगीतप्रेमी बुवा आमा दाजुभाई तथा दिदीबहिनीहरु,प्यारा शुभचिन्तक एवं ईष्टमित्रजन सम्पूर्णमा सादर नमस्कार। यतिबेला राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको महाधिवेशन नजिकिँदै गर्दा धेरैले मेरो उमेदवारीबारे चिन्ता र चासो ब्यक्त गरिरहनु भएको छ।संस्थामा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिव र एक कार्यकाल महासचिव पदमा रहि आफ्नो भूमिका निर्वाह गर्ने अवसर पाएको थिएँ। संस्थागत सिकाई र अनुभवको आधारमा कलाकारहरुको हकहितका लागि केहि गर्ने सोंचले लगातार अध्यक्ष पदका लागि मैदानमा उत्रिएको म उमेरको उर्जाशील समय संस्थालार्इ हुर्काउन बढाउनकै निम्ति घरपरिवार भन्दा संस्थालाई शिरमा राखेर आर्थिक,भौतिक, नैतिक र सांस्कृतिक रुपले त्याग र समर्पण गरेकोले पनि एकचोटी संस्थाको नेतृत्व लिएर कलाकार र कलाकारिता जगतको उत्थानका लागि केहि गर्ने दृढ सोंच संकल्प र अठोट लिएको थिएँ तर मेरो उक्त योजना माथि बज्रपात हुन पुग्यो। संस्था आफैमा पवित्र र निर्दोष हुन्छ।दुख, मिहेनत र पसिना बगाएको संस्थाको असाध्यै माया लाग्दो रहेछ। संस्था बाहिर रहँदा पनि संस्थागत तवरबाट कुनै भूमिकामा रहेर काम गर्ने अवसर पनि प्राप्त हुन सकेन। यसपालि भने अग्रज कलाकारबाट नेतृत्वमा आउन म प्रति केहि सदभाव रहन्छकी भन्ने झिनो आशा राखेको थिएँ तर बिडम्बना यो सौभाग्य पनि प्राप्त गर्न सकिन । नत अनुजलेनै अग्रजको सम्मान गरेर भूमिका दिने कुनै मनसाय देखियो। संस्थाको नाराले मलाईनै गिज्याएको अनुभूति भयो।अब फेरि अनुज भाईबैनीसँग चुनावी प्रतिस्पर्धामा होमिनु शाभनीय नहुने र मेरो नैतिकताले पनि यसो गर्नु उचित नहुने मेरो ठम्याई छ।विगतमा मलाई नेतृत्वमा देख्न चाहेर स्वदेश तथा विदेशबाट संस्थाको प्रतिनिधिको रुपमा आई मलाई आफ्नो अमूल्य मत दिएर जितको ढोकामै पुर्याउनु हुने भगवानरुपी प्यारा शुभचिन्तकप्रति आत्मैदेखि उच्च कोटिको सम्मान टक्राउँदै ढोकाबाट छिर्नै नदिने पालेदाईको पनि सदा राम्रो मात्रै खबर सुन्न पाईयोस् भन्ने कामनाका साथ अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णविराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु। कलाकारको हकहितको मुद्दामा र संस्कृतिको जगेर्नार्थ कतै भेटिने अवसर मिल्यो भने संगै सहयात्री रुपमा रहनेछु भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु। मैले जस्तो अपमान र तिरस्कार संस्थामा आईन्दा कुनैपनि भाईबैनीले सहन नपरोस भन्दै आउँदै गरेको महाधिवेशनको मतगणना स्थलमा बत्ती निभ्ने झंझटबाट मुक्त भई छनोट हुनु हुने नयाँ नेतृत्वलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। कलाकारिता र संस्कृतिलाई शिरमा राख्ने संस्कृतिकर्मीहरुलाई हाम्ले तय गर्न लागेको नयाँ यात्रामा हजुरमा अन्तरनिहित रहेको प्रतिभा, क्षमता,दक्षता, विज्ञता र अनुभव सहित हातेमालो गर्न आउनुहुन हार्दिक अपिल गर्दै स्वागत गर्न चाहन्छौं। धन्यवाद। जय संस्कृति।


दर्शन खबर । १० फाल्गुन २०७९, बुधबार