बालिका हत्या घटनाका आरोपित १८ महिनापछि पक्राउ

कालिकोट । कालिकोटमा प्रहरीले बालिका हत्या घटनाका आरोपितलाई १८ महिनापछि पक्राउ गरेको छ । खाँडाचक्र नगरपालिका–६ दाँहाकी १६ वर्षीया निरू विकको हत्या घटनाका आरोपी खाँडाचक्र नपा–६ का ४७ वर्षीय अने नेपाली र ३० वर्षीया कमला विकलाई प्रहरीले १८ महिना पछि सोमबार पक्राउ गरेको हो । ०७८ भदौ ४ गतेबाट हराएकी बालिका विकको आधा शरीर बाँकी रहेको शव ०७८ भदौ ७ गते फेला परेपछि पीडित पक्षले भदौ ९ गते बलात्कारपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका थिए ।

केही प्रमाण नष्ट भएको र स्थानीयको सहयोग नपाएर अनुसन्धान कार्य ढिलो भएका कारण आरोपितहरूलाई १८ महिना पछि घरबाटै गिरफ्तार गरिएको प्रहरीले जनएको छ । ढिलै भएपनि आरोपितहरूलाई प्रहरीले गिरफ्तार गरेको हुनाले न्याय पाउने आशा जागेको मृतक निरुका पिता रत्न कामीले बताए । उजुरीमा कसले र किन यस्तो घटना ग¥यो भन्ने उल्लेख गरिएको किटानी आउन नसकेकाले पनि अनुसन्धानमा समस्या आएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सुबराज बमको भनाई रहेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट आएको टोली घटनास्थलमा पुगेर घटनाको विषयमा अनुसन्धान गरेको थियो ।

तपाईको प्रतिक्रिया