सीता आचार्य सुर्खेत । आज फागुन ५ गते मेरो विशेष दिन । मेरो आमा बा ले भनेको मितिलाई राज्यले प्रमाणित गरेपछि मसँग फागुन ५ को नाता सधैंका लागि विशेष भएर गाँसियो । आमा बा को भनाई अनुसार त्यो दिन बिहान १०ः४५ मा चेतनशील सानो शरीर मेरी आमाको कोखबाट बाहिर संसार हेर्न आयो । तसर्थ यही दिन मेरो जन्मदिन घोषणा भयो । तर, त्यो शरीरको प्रारम्भ त केही महिनाअघि आमाको गर्भमा भइसकेको थियो । जन्मलाई प्रारम्भ मान्ने हो भने, त्यसअगाडि नै मेरो जन्म भइसकेको थियो । शरीरले आत्मसाथ गरेको चेतनशीलता र आमा–बा को प्रजनन संरचनामा पहिले नै स्थापित थियो । मेरा बा आमाको त्यो जोडिले मेरो न्वारान गर्नुभयो, नाम राख्नुभयो, परिवार चिनाउनुभयो, समाज देखाउनुभयो, पढाउनुभयो, विभिन्न नियममा आबद्ध गराउनुभयो । सामाजिक, आर्थिक, राजनीतिक, मनोवैज्ञानिक, परिस्थिति र अनुभूतसँग साक्षात्कार गराउनुभयो । विभिन्न बन्धन, संघर्षका अवधारणाहरूलाई आत्मसात गर्ने परिस्थितिको निर्माण गरीदिनुभयो ।
ती सबै नियतिबीचबाट आफ्नो नियति निर्माण गर्ने अवसर प्रदान गर्नुभयो । यही क्रममा त्यस फागुन ५ को अस्तित्वले मेरोे ‘सेल्फ’को निर्माण ग¥यो । र, मैले आफूलाई अनुभूति गर्न थाले । आफ्नो अस्तित्वको सुरक्षा गर्न थाले । अनि मेरो संसार निर्माण भयो । यही प्रणालीभित्र म, मेरो, मैले, मलाईजस्ता आधारभूत अवधारणाहरूको प्रारम्भ गरे र त्यसलाई विकास गर्दै गए । यस धर्तीमा कुनै पनि प्राणीको जन्म हुन्छ, उसको नियति रहेसम्म जे जतासुकै सल्बलाउँछ र अन्तिममा यही प्रकृतिमा विलीन हुन्छ । अनेक ब्यक्तीले अनेकौं परिभाषा दिएपनी, मलाई लाग्छ, सिधा अर्थमा यही हो जिन्दगी । तर किन हो कीन आफ्नो जिन्दगी पटक्कै चित्त बुझेको छैन । यो दिनमा मलाई औधि खुशी लागेको पनि छैन । नत फेरि यो दिनमा दुखी नै छु । केवल यो संसारमा मलाई सबैभन्दा बढी र सबैभन्दा पहिले चाहने, माया, ममता र स्नेह प्रदान गर्ने मेरा बा र आमाको निम्ति केही शब्दहरु लेख्न मन लाग्यो, अनि औलाहरु चलाउदै छु । म यो संसारमा खाली हात र नाङ्गो शरीर लिएर जोडजोडको रुञ्चे आवाजको चिच्याहटमा जन्म लिएको त हु । यसैदिन मेरी आमा आफ्नो प्रसव पीडालाई भुलेर मुसुमुसु मुस्कुराउदै, मलाई छातिमा टाँसेर चुमिरहेकी हुनुहुन्थ्यो होला ।
जीवनका सबै पीडा भुलेर मेरी आमालाई एउटा सुदर छोरी उपहार दिएकोमा मौन धन्यवाद दिदै आफ्ना साथीभाइ, ईस्टमीत्रसँग म छोरीको बाबा भएँ भन्दै मेरो जन्मको खुशीयालीमा भुइँखुट्टा छाडेर मेरा बा प्रचारप्रसार गरिरहनुभएको थीयो होला, मेरा हजुरबुवा कान्छो छोरो नि बाउ भयो भन्दै मख्ख हुनुहुन्थ्यो होला, । मेरी हजुरआमा नातिनी जन्मेको खुशियालीमा मेरी आमाकोलागी ज्वानो मेथी र घिउको जोरजाम गर्दै हुनुहुन्थ्यो होला । मेरा अन्य सबै नजिकका आफन्तहरु ठूलो बा, ठूली आमा, मामा माइजु, फुपु फुपाजुहरु मेरो जन्म भएको खबरपछि सायद सबैको अनुहार खुशीले टल्केको हुनुपर्छ । ……यी सबै घटना कल्पनामा हेर्ने गर्छु भित्री आँखाले ………..। जन्मनु, बढ्नु, बृद्धअबस्थामा पुग्नु र मर्नु प्रकृतिको नियम हो । यो हिजोदेखि आजसम्म चलिरहेको छ र अनन्त यसरी नै चल्नेछ । भलै कसैको मृत्यु प्राकृतिक प्रकोप, दुर्घटना, युद्ध, कुनै रोगको कारण अल्पायुमै पनि हुने गर्छ यसलाई अपवाद पनि मान्न पाइन्छ होला ।म पक्कै पनि आफु खुशी र रहरले यो संसारमा आएको होइन । यदि म खुशी, रहर र चाहनाले यस संसारमा आउँदो हुँत आमाको गर्भबाट निस्कदै गर्दा मेरो रुवाइको चिच्याहट हुँदैन थियो होला । यदि त्यसो हुन्थ्यो होला त मेरो चिच्याहटमा खुशी र उमंगको हर्षउल्लासमय हाँसोको खित्का हुन्थ्यो होला ।
सायद मेरा बा र आमा लगायतसबै आफन्त र नातेदारको खुशी र चाहनामा मेरो जन्म भएको हुनुपर्छ । त्यसैले त म जन्मिदा उहाँहरुको ओठमा हाँसो, मनमा खुशी र हर्षउल्लास हुँदो हो । मेरा लागि मेरा बा आमा संगसंगै सबै आफन्तहरु निकै महत्वपूर्ण, निकै प्रेमिल हुनुहुन्छ । लाग्छ उहाँहरु म प्रति सन्तुष्ट नै हुनुहुन्छ । म मेरा बा र आमाको म प्रतिको माया, प्रेम, स्नेह, करुणा, त्याग, तपस्या, बलादानी र समर्पणको सदैब ऋणी रहने छु । म मेरा बा लाई खासै नयाँ, सुकिलो र मुकिलो लुगामा देख्दिन । मेरा बाको शरीरमा सधैं एउटैखालको टोपी, कमिज र पाइन्ट हुन्छ । मेरा बाको खुट्टाले नयाँ र महँगो जुत्ता चप्पल सायदै पाएनन् होला । लाग्छ चप्पल मुनिबाट काठ र ढुङ्गा आज पनि बिजाउँदो हो । नाम्लो बोक्दा बोक्दै थाप्लाको आधा कपाल नाम्लोनै लगीसक्यो, अझै मेरा बा खाली थाप्लोमा भारी बोकिरहनुहुन्छ । मैले मेरा बाको पसिनाले निथ्रुक्कै भिजेको शरीर देखेको छु । काम गर्दा गर्दौ ठेला परेका हात गोडा देखेको छु, दुख, कष्ट, मेहनत, परिश्रम गर्दागर्दै कामको चापले उमेरमै चाउरी परेको अनुहार देखेको छु । यस्ता थुप्रै कहानी छन् मेरा बाले बोकेका, जो कहिल्यै टेलिभिजनको पर्दामा आउँदैनन् । पत्रिकामा छापिदैनन । रेडियोमा बज्दैनन । युटुब र अनलाइनका रहस्यमय कथाहरू र व्यथाहरु बन्दैनन् ।
यति हुँदाहुँदै पनि मेरा बाले हरेश खाएको मैले कहिल्यै देखेको छैन । मेरा बाले मलाई प्रत्येक बर्ष नयाँ शैक्षिकसत्रमा बिद्यालय पोशाक र शैक्षीक सामाग्री किन्देकै हुनुहुन्थ्यो । तिज दशै जस्ता महत्वपुर्ण चाडबाडमा नयाँ फरीया कीनीदिएकै हुनुहुन्थ्योे । मेरो खुट्टामा जुत्ता र चप्पल पातलो हुन दिनुभएन । आफ्ना आवश्यक्तहरु मारेर मेरा रहरहरु पुरा गर्न मेरा बा पछि हट्नुभएन । भए खल्ती, नभए ऋण मागेर भए पनि मेरा बाले मलाइ कुनै कुराको अभाव महशुस गर्न दिनुभएन । मेरा बाले यति मात्रै होइन मेरा लागि धेरै त्याग, समर्पण र बलिदानी गर्नुभएको छ । जब म जन्मे उहाँले त्यही दिनबाट आफू र आफ्ना सपनाहरूलाई तिलान्जली दिएर मेरो र मेरा सपनाहरूको बारेमा सोच्न थाल्नुभयो । मेरा बा संसारको सबैभन्दा उत्कृष्ट बा हुनुहुन्छ । मेरी आमाले पनि म जन्मेदेखि आफूलाई बिर्सिइन, आफ्ना सपनाहरूलाई बिर्सिइन । मेरी आमाले आफ्नो सबै कुरा म मा समाहित गरिसकेकी थिइन् । मेरी आमाले मलाई नौ महिना गर्भमा राखिन, दूध चुसाइन, माया र ममता दिइन । मेरी आमा तेति धेरै पढेलेखेकी त होईनन्, तर मेरी आमा मेरो शिक्षक हुन्, जसले मलाई तातेताते गराउँदै हिडडुल गर्न, बोल्न, खान, लगाउन, रितिरिवाज, परम्परा, संस्कार र संस्कृति, न्याय र अन्याय, सही र गलत, सत्य र असत्य आदि जीवनमा सबैभन्दा बढी र पहिला सिकाईन् ।
मेरी आमा गाँउको सानो तिनो स्वास्थ्यकर्मी हुन् ।
गाँउ समाजका लागी सानोतिनो भएतापनि मेरो लागी ठुलो डक्टर हुन् । मलाई अलिकति ज्वरो आयो, टाउको दुख्यो, रुघाखोकी लाग्यो , मेरो हातखुट्टा काट्यो भने आफुलाई बिर्सेर मेरो लागी मर्ने गर्थिन । धेरैपटक बिरामी हुँदा आमाको काख र तातोपानीले निको भएका उदाहरण पनि मसँग छन् । मेरी आमा होटेल म्यानेजमेन्ट पढेकी त छैनन् तर पाँचतारे होटलको खानाभन्दा मीठो लाग्छ मलाई उनले पकाएको खाना । मलाई यति धेरै माया गर्ने संसारकै उत्कृष्ट छीन् मेरालागी मेरी आमा, म मेरा हरेक सुख दुख उनि संग साट्न सक्छु, मेरा दुई सब्द फोनमा सुनेकै भरमा उनि म भित्र के बितिरहेको छ सजिलै पत्ता लगाउन सक्छीन् । मेरा हरेक सुखदुख र अफ्ठ्यारो परिस्थीतिमा साथ दिन्छीन् । मेरी आमा आज पनि मेरी साथी जस्तै छीन्, अरुको नजरमा हामी दुई बहिनी जस्तै देखीन्छौ रे । म संग दुई बहिनी जस्तै देखीने मेरी आमाका पनि हातमा ठेला उठेका छन् । पैतलाहरु फाटेका छन् । सधै दुखीरहने त्यो कम्मरमा पटुका कसेर मेरा बा सरह नाम्लो र थाप्लो को मीलनमा सहगयोगी बनिदिन्छीन्, अब त बुढी हुन् थालिन क्यारे, कताकता कपाल पनि फुल्न थालेको छ । आँखा वरिपरिदेखी छाला चाउरी पर्न सुरु गरेको छ । लवाइखवाइमा मेरा बाको जस्तै किस्सा छ मेरी आमाको पनि । मेरा बा र आमाले जिन्दगी भुलेर म बाट सपना देख्न थाल्नुभएको छ । सबैका बा आमाझैँ मेरा बा र आमाको पनि सपना छ ।

आज म शिर ठाडो बनाएर म यो हुँ त्यो हुँ, मैले यो गरेको छु त्यो गरेको छु, भन्ने जुन आँट गर्छु, त्यसमा मेरा बा आमाका कयौं रात अनिँदो बिते होलान्, खुन पसिना बगे होलान्, कयौं रात भोकभोकै रहे होलान्, यो कुरा मैले बुझ्ने कोशीस गरेकोे छु । मलाई यो संसारमा मैले सरह चिन्नुभएको छ, मेरा बा आमाले । बा ! आमा, म नचिनेको मानिसलाई बाटोमा दुःख परेको देख्दा त दुःखी हुन्छु भने, म मेरा भगवान सरह बा आमा लाई कहिलै दुःखी बनाउने छैन । यो समाज हामी शिक्षित व्यक्तिको जमात हो, हामी शिक्षित हौं भनेर भनिरहँदा मानिसिक रुपमा शिक्षित बन्ने कोशीस गर्ने छु । म हजुरहरुको चाहाना अनुसार अघि बढिरहेको छु या छैन, यो त म जान्दिन तर लाग्छ मेरा बा र आमा मसँग सन्तुष्ट हुनुहुन्छ । ढुक्क हुनुस् म हजुरहरुको सपना मर्न दिने छैन, यो मेरो बाचा भयो । आमा ! बा तपाईंको छोरी संधै हजुरहरुकोे ईमान्दार कर्तव्यनिष्ठ छोरी र यो देशको कर्तव्यनिष्ठ नागरिक बन्ने छे । मलाई यो धरतिमा पाइला टेकाउने तपाई आमा ! बा प्रती हार्दिक नमन । उच्च सम्मान र मीठो माया । मलाई जुनजुन माध्यमबाट मलाई यति धेरै माया, यति धेरै शुभकामना र यति धेरै साथ दिनुहुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद साथै सधै भरी यस्तै माया र साथको अपेक्षा सधैभरी गरीरहेने छु ।



दर्शन खबर । ५ फाल्गुन २०७९, शुक्रबार