किन हुन्छ ग्याँस सिलिण्डर विष्फोट ?

काठमाडौं ।बुधवार राति प्रतिनिधिसभाका सांसद डा.चन्द्र भण्डारीको घरमा भएको ग्याँस विस्फोटले उनकी आमा हरिकला भण्डारीको निधन भयो भने भण्डारीको पनि अवस्था गम्भीर बन्यो । उनलाई थप उपचारका लागि बिहीबार नै भारत लगिएको छ । ग्याँस लिकेज भएको अवस्थामा उनकी आमाले ग्याँस बाल्न खोजेपछि उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ग्याँस बिस्फोटका कारण सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उहाँकी आमा हरिकलाको ७० प्रतिशत शरीरको भाग जलेको थियो । पछिल्ला दिनमा ग्याँस विस्फोट भएर हजारौँले ज्यान गुमाईसकेका छन् भने धेरै जनधनको क्षति समेत हुँदै आएको छ । तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा मात्रै सिलिण्डर ग्यास विस्फोटबाट ९ जनाले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन् । धेरै दुर्घटना जनचेतनाको अभावमा भइरहेको विज्ञहरु बताउँछन् । ‘ग्याँस लिक भएको आशंका भएको ठाउँमा बत्ती बलेको छ भने बल्न दिनुपर्छ, बन्द छ भने खोल्नुहुँदैन । बरू कोठाका झ्याल–ढोका खोलेर ग्याँसलाई बाहिर जान दिनुपर्छ, धेरै मानिसलाई त ग्यास भरिएको कोठामा बिजुली बत्ती बाल्दा स्पार्क भएर आगलागी हुन्छ भन्ने नै थाहा छैन,’ जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुख तथा अग्नि नियन्त्रक किशोरकुमार भट्टराईले भने । उनले ग्यास लिक भएको अवस्थामा बलेको बत्ती निभाउन र निभेको बत्ती बाल्न नहुने बताएका छन् । बरु, झ्याल, ढोका खोलेर अक्सिजन पर्याप्त मात्रामा आउन दिए असुरक्षा नहुने बताएका हुन् । अझ धेरैजसो उपभोक्ताले ग्याँसको समयावधिबारे ध्यान पनि दिएको पाइँदैन । सिलिण्डरको घाँटीमा भएका ३ वटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउने गरी कोड राखिएको हुन्छ । सो कोडकै आधारमा उपभोक्ताले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन् ।

सिलिण्डरको फलामको तौल जति भए पनि ग्यासको तौल भने १४ दशमलव २ केजी हुनैपर्ने मान्यता छ ।  तर, उपभोक्ता उक्त विषयमा जानकार नहुँदा धेरै व्यक्तिले अकालमा ज्यान गुमाउनु परेको छ । एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुने विज्ञहरु बताउँछन् । १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ । तर ग्याँस उद्योगहरुले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन समेत गरेको पाइँदैन । हाइड्रोलिक टेष्ट गरेपछि सिलिण्डर नचुहिने पाइयो भने मात्रै त्यो सिलिण्डर पुनः ५ वर्षसम्म प्रयोग गर्न सकिने नत्र कवाडीमा दिनुपर्ने प्रमुख भट्टराईको भनाई छ । नेपाल आयल निगमका अनुसार देशभर अहिले २८ लाख बढी सिलिण्डरहरु उपभोक्ताका घरमा छन् । दैनिक ८० हजारदेखि एक लाख सिलिण्डर बजारबाट खाली उठ्ने र त्यति नै संख्यामा रिबोटलिङ भएर वितरकमार्फत उपभोक्ताको घरमा पुग्ने निगमले जनाएको छ । यसका अतिरिक्त देशभरका ग्याँस उद्योगमा आफ्नै स्टोरेजमा मौज्दात पनि रहेको हुन्छ । सिलिण्डरमा जोडिएको भल्व, रेगुलेटर, पाइप तथा ग्याँस चुल्होका कारणले हुने चुहावटले ९५ प्रतिशत घटना हुने गरेको पाइन्छ । उपभोक्ता सचेत नहुँदा र उद्योगले पनि मापदण्ड पूरा नगर्दा ग्याँस दुर्घटनाको जोखिम झनै बढ्न थालेको छ । तसर्थ, उपभोक्ताले ग्याँसको समायवधि र तौलमा ध्यान दिएर मात्रै खरिद गर्नु अत्यावश्यक देखिन्छ । अन्यथा, ग्याँस पड्किएर धनजनको क्षति हुनेक्रम न्युनीकरण हुनसक्दैन ।


तपाईको प्रतिक्रिया