सुर्खेत । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा ११ जनाको कर्मचारीको दरबन्दी रिक्त रहेको छ । ठुलो संख्यामा दरबन्दी रिक्त हुँदा मन्त्रालयले दिने सेवा प्रभावित भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार ३८ जना कर्मचारी हुनु पर्नेमा अहिले २७ जना मात्रै कर्मचारी रहेका छन् । २७ जना कर्मचारीले नै मन्त्रालय चलाईरहेका छन् । गत भदौ महिनामा लभ अधिकारी र पदम बुढा क्षेत्री अन्य जिल्लामा सरुवा भएपछि आर्थिक मामिला तथा योजना मन्त्रालय उपसचिव विहिन भएको छ हो । मन्त्रालय विगत छ महिनादेखि उपसचिव हुँदा मन्त्रालयको विभिन्न काम प्रभावित बनेको छ । तीन ओटा उपसचिवको दरवन्दी रहेको कर्णाली प्रदेशको महत्वपूर्ण यो मन्त्रालय विगत लामो समय देखि उपसचिव विहीन बन्दा बजेट शीर्षक संशोधन गर्ने देखि उपसचिले गर्ने सबै काम ठप्प भएको आर्थिक मामिला तथा योजना मन्त्रालयकी सुचना अधिकारी ज्ञानुलक्ष्मी चौलागाईले बताईन् ।
यस मन्त्रालयमा रिक्त रहेको कर्मचारीको विषयमा आफुले संघ तथा अर्थमन्त्रालयमा बारम्बार खबर गरेको भएपनि कर्मचारी नै प्रदेशमा आउन नमानेको प्रदेश सचिव श्याम कृष्ण थापाले बताए । “मन्त्रालय भदौबाट उपसचिव विहिन भएको छ, भदौमा लभ अधिकारी र पदम वुढा क्षेत्री हुनुहुन्थ्यो तर उँहाहरु सरुवा भएर अन्य ठाउँमा जानु भयो त्यस यता मन्त्रालय उपसचिव विहिन भएको हो । साथै हाम्रो यस मन्त्रालयमा ११ जना कर्मचारीको दरबन्दी रिक्त रहेको छ । मैले संघलाई बारम्बार भनिरहेको छु । तर कर्मचारी नै प्रदेशमा आउन नमानेपछि ठुलो संख्यामा कर्मचारीको दरबन्दी रिक्त रहेको हो । सकेसम्म अब छिट्टै कर्मचारी आउनुहुन्छ होला कर्मचारीको संख्या न्युन अपुग भएपनि हामीले सेवा भनि निरन्तर दिईरहेका छौ, कुनै पनि सेवा प्रभावित भएको छैन् ।”, उनले भने ‚


दर्शन खबर । २ फाल्गुन २०७९, मंगलवार