काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो चार बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । यसअघि आज १ बजेका लागि बोलाइएको बैठक विज्ञप्ति निकालेर चार बजेका लागि सारिएको थियो । सचिवालयले मंगलबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने, दिगो विकास तथा सुशासन समितिले २०७८/०७९ को प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ । यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत हुनेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद् बैठकबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।


दर्शन खबर । २ फाल्गुन २०७९, मंगलवार