सुर्खेत । चालू आर्थिक वर्षको छ महिनामा सुर्खेतमा ५ सय १३ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आर्थिक वर्ष ०७९/८० को छ महिनाको अवधिमा ५ सय १३ उद्योग दर्ता भएका हुन् । सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका सूचना अधिकारी माधव प्रसाद न्यौपानेले जानकारी दिए ।
ती मध्ये ३५ उत्पादनमूलक, २ सय ३४ कृषि तथा वन पैदावर, एक पर्यटन, र २४३ सेवामूलक उद्योग दर्ता भएका हुन् । जिल्लामा कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।
वाणिज्यतर्फ सोही अवधिमा ६ सय ११ नयाँ व्यवसाय दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/०७९ मा जिल्लामा १५ हजार ९ सय ७० उद्योग दर्ता भएका थिए । एक लाखसम्म पूँजी भएको उद्योगले एक हजार एक सय, पाँच लाखसम्म पूँजी भएको उद्योगले ५ हजार एक सय, ५० लाखसम्म पूँजी भएको उद्योगले १० हजार एक सय, पाँच करोडसम्म पूँजी भएको उद्योगले ५० हजार र १० करोडभन्दा माथि पूँजी भएको उद्योगले ७५ हजार रुपैयाँ दर्ताबापत शुल्क बुझाउनुपर्छ । चालु आर्थिक वर्ष सुरु भएको पहिलो ६ महिनामा ४१ लाख ३४ हजार ४ सय ९० रुपैयाँ ३४ पैसा संकलन भएको निर्देशनालयका सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।


दर्शन खबर । २५ माघ २०७९, बुधबार