दुर्घटनाबाट जोगाउने ‘कन्भेक्स मिरर’ आफै दुर्घटनामा

कुलेन्द्र शाही सुर्खेत । बढ्दो सवारी दुर्घटना र ध्वनि प्रदुषण कम गर्ने उद्देश्यले सडक डिभिजन कार्यालय सुर्खेतले सुर्खेतका विभिन्न ठाउँमा भदौमा १६ वटा घुम्ती ऐना ‘कन्भेक्स मिरर’ राख्यो । घुम्ती ऐनाबाट दुवै तर्फका सवारीहरु सहजै देख्न सकिन्छ । त्यसकारण उक्त ऐना जडान भएपछि आम नागरीक दुर्घटना न्युनिकरण हुने कुरामा विश्वस्तका भएका थिए । तर लाखौ खर्च गरी विभिन्न ठाउँमा राखिएका अधिकांस घुम्ती ऐना (कन्भेक्स मिरर) केही महिना पनि टिक्न् सकेन् । डिभिजन कार्यालय सुर्खेतले आफ्नै लगानीमा २०७९ भदौमा करीब १ लाख ९२ हजारमा सुर्खेतका ३ वटा सडकखण्डमा १६ वटा घुम्ती ऐना जडान गरेको थियो । जसअन्तरगत सुर्खेत–दैलेख सडक खण्डमा ८, कर्णाली राजमार्गमा ३ र रत्न राजमार्गमा ५ वटा ऐना जडान गरेको थियो । त्यी ऐना मध्ये अहिले ४ वटा ऐना मात्रै सकुशल छन् । जसमा सुर्खेत–दैलेख सडकखण्डमा २ र रत्न राजमार्गमा दुई बाँकी रहेका छन् । सुर्खेत –दैलेख सडकखण्ड अन्तरगत सुरुको घुम्तीमा नेपाली सेनाको ब्यारेक अगाडि राखिएको ऐना केही पनि भएको छैन् । यो ब्यारेकका दुवैतर्फका गेटमा सैनिक तैनाथ हुने भएकाले यहाँको ऐना सुरक्षित रहेको छ । सोही सडक खण्ड अन्तरगत कपासे भन्दा २ किलोमिटर अगाडि पनि एउटा ऐना सुरक्षित भएको सडक डिभिजन कार्यालय सुर्खेतका ईञ्जिनियर टोपनारायण पौडेलले जानकारी दिए । उनका अनुसार रत्न राजमार्ग अन्तरगत २ वटा ऐना पनि सुरक्षित नै रहेका छन् ।

जसमा भेरीपुल भन्दा थोरै अगाडि पैसठ्ठीमा र सोही ठाउँको जंगलमा गरी दुई वटा ऐनामा अहिले पनि सहजै दुवै तर्फका सवारीहरु सहजै देख्न सकिन्छ । अन्य विभिन्न स्थानमा राखिएका घुम्ती ऐना फुटेका छन् भने कतिपय खम्बासहित ढलेर नष्ट भएका छन् । विपरीत दिशाबाट सवारी आए नआएको जानकारी लिएर सवारी चलाउन सहज बनाउन घुम्तीमा राखिएका ऐना फुटाइदिँदा र नयाँ ऐना राख्न नसक्दा सवारी दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । डिभिजन कार्यालयले खरिद गरी राखेका एउटा ऐनाको मुल्य करीब १२ हजार पर्ने गर्दछ । यस हिसाबले १६ वटा ऐना जडानको लागत १ लाख ९२ हजार हुन्छ । जंगल क्षेत्रमा नियमित सुरक्षा नहुने भएकाले सडक सुरक्षाका लागि घुम्तीहरुमा राखिएको ऐनाहरु नटिकेको ईञ्जिनियर पौडेलले बताए । ‘घुम्तीमा विपरीत दिशाबाट आएको गाडी देखियोस र चालकले पूर्व सतर्कता अपनाउन् भनेर जोखिम घुम्तिहरुमा घुम्ती ऐना राखिएको थियो’, पौडेलले, ‘तर दुखका साथ भन्नुपर्छ, अहिले अधिकांश ऐना फुटेका छन् । नयाँ ऐना पुनस्थापना गर्न हामीसँग स्रोत छैन । स्थानीय तह र सडक विभागसँग पहल गरिरहेको छौ ।’ ‘हामीले ऐना राख्ने, अरूले फुटाएर फाल्दिने भए, बजेटिङको सिस्टमले अहिले फुटेका ठाउँमा फेरी ऐना राख्यो भने एउटै काममा दोहोरो खर्च देखिन्छ,’ उनले भने, ‘कसले फाल्यो भन्ने पनि पत्ता लाग्दैन, हामीले यो विषयमा सुरक्षा निकायका प्रमुखसहित छलफल पनि गरेका थियौं । केही निश्कर्ष आएन ।’

अहिले तीन वटा सडक खण्डका सुरूवाती भागमा राखिएको ऐनाहरु नटिकेपछि अरु क्षेत्रमा राख्ने की नराख्ने भन्नेमा पनि अन्यौल सिर्जना भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आफ्नो कार्य क्षेत्रभित्र पर्ने अरू सडक खण्डमा पनि ‘कन्भेक्स मिरर’ जडान गर्ने योजना बनाएको थियो । तर अहिले राखिएको ऐनाहरू नै सुरक्षित नभएपछि बाँकी निर्णय लिन नसकिएको ईञ्जिनियर पौडेलले बताए । सडकखण्डका घुम्तीहरुमा विपरित दिशाबाट आएको सवारी साधन देखिदैन जसले गर्दा दुर्घटनाको जोखिम बढदै गएको छ । यही दुर्घटना न्युनिकरणको लागि सडकको छेउछाउमा ऐना राखिएको भएपनि सचेतनाको अभावमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । सडक छेउछाउमा राखिएको ऐनाको सडक दुर्घटना न्यूनिकरणमा ठुलो भुमिका रहेको हुन्छ । तैपनि अझै कति मानिसमा जनचेतनको कमिका कारण ऐनालाई नोक्सान पु¥याउने जस्ता अमानवीय क्रियाकलापहरु गरिरहेको उनिले बताए । यता नागरीक भने सडकमा राखिएका ऐनाको दुर्दशा हेर्दा सरकारको लगानी बालुवामा पानी सरह भएको बताउछन् । सडक घुम्तीमा राखिएका ऐना टुट्फुट भएको देख्दा सरोकारवालाहरु दुःख व्यक्त गर्छन् । रत्न राजमार्ग, कर्णाली राजमार्ग सुर्खेत–दैलेख सडकखण्ड राखिएका घुम्ती ऐना ‘कन्भेक्स मिरर’ को सुरक्षामा चुनौती देखिएको छ ।


तपाईको प्रतिक्रिया