कर्णाली प्रदेश : साढे तिन वर्षको अवधिमा एक हजार बढीको आत्महत्या

कुलेन्द्र शाही सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ८ खजुरामा रहेको ईत्राम खोला पुलमा माघ १६ गते सोमवार राति साढे १० बजेको समयमा एक जना झुन्डिएको अवस्थामा मृत फेला परे । सोमवार राति फेला परे पनि उनको पहिचान भने मंगलवार विहान साढे ६ बजेतिर भएको थियो । वीरेन्द्रनगर नगरपालिका १० मा केही सयमदेखि बस्दै आएका हुम्लाको अदानचुली गाउँपालिका ३ का अन्दाजी २४ वर्षीय मिलन बुमी रहेका थिए । उनी जस्ता कर्णालीमा हजारौ जनाको मृत्यु हुने गरेको पाईन्छ । तर त्यसको आत्महत्या र हत्याको प्रराम्भिक अनुसन्धान खुलेपछिको तथ्याङ्गक अनुसार कर्णाली प्रदेशमा साढे तीन वर्षको अवधिमा एक हजार वढीले आत्महत्या गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार साढे तीन वर्षको अवधिमा एक हजार ४८ जनाले आत्महत्या गरेका हुन् । साढे तीन वर्षको अवधिमा सवैभन्दा बढी आत्महत्या गर्नेको संख्या मा धेरे रहेको छ । आर्थिक वर्ष २०७६/०७७ मा जम्मा २६४ जनाले आत्महत्या गरेकोमा ०७७/०७८ मा ३ सय ६४ रहेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा १३३ पुरुष, ७० महिला, १५ बालक र १६ बालिका गरी जम्मा २२४ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् । यस्तै विष खाएर ५२ जना, हातहतियारबाट २ जना, डुबेर १ जनाले आत्महत्या गरेका हुन् । आर्थिक वर्ष २०७६/०७७ मा आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष रहेका छन् । १६६ जना पुरुषले आत्महत्या गरेकामा ८९ जना महिला, १८ जना बालक, १७ जना बालिका गरी २८९ जनाले आत्महत्या गरेका कर्णाली प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी माधव श्रेष्ठले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७६/०७७ को तुलनामा भन्दा ०७७/०७८ मा आत्महत्या गर्नेको संख्यामा वद्धि भएको छ । आर्थिक वर्ष ०७७/०७८ मा ३ सय ६४ जनाले आत्माहत्या गरेका हुन् । जसअन्तरगत विष खाएर ७०, झुण्डिएर २८६, हातहतियारबाट १ र हाम फालेर ८ जना गरी जम्मा ३ सय ६४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्गकले देखाउँछ । आर्थिक वर्ष ०७७/०७८ को तुलनामा ०७८/०७९ मा आत्महत्या गर्नेको संख्यामा केही कमी आएको देखिन्छ । ०७८/०७९ मा झुण्डिएर २३०, विष सेवन गरेर ५६, आगो लागेर एक, हातहतियार औजार प्रयोग गरेर एक र पानीमा डुबेर तीन जनाले आत्महत्या गरेका छन् ।

यस्तै चालु आर्थिक ०७९/०८० को साउनदेखि पुस मसान्तसम्म आत्महत्या गर्नेको संख्या १०५ जना रहेको छ । जसमा झुण्डिएर ९५, विष सेवन गरेर ९, पानीमा डुबेर एक जनाले आत्महत्या गरेको श्रेष्ठले जानकारी दिए । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी छन् । साढे तीन वर्षको अवधिमा ८ सय ९५ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यसैगरी विष सेवन गरी आत्महत्या गर्नेको संख्या १८७ हाम फालेर ८, आगो लगाएर १, हातहतियार औजारको प्रयोग गरी तीन र डुबेर ५ जना रहेका छन् । विशेष गरी आत्महत्या हुनुमा प्रमुख कारण भनेको गरिबी तथा आर्थिक अभाव रहेको छ । यस्तै दिर्घरोगी, प्रेम असफल, मानसिक तनाव, घरेलु हिंसा तथा पारिवारिक कलह, बैदेशिक रोजगार, सामाजिक संजाल, जीवनमा असफलता एक्लोपना जस्ता कारणले आत्माहत्या हुने गरेको विज्ञहरु बताउँछन् । विशेषगरी धेरैजसो मान्छेहरु परिवारभन्दा अलग्गै बस्ने भएपछि आफ्ना समस्याहरु अरुसँग भन्न नसक्ने भएर बिस्तारै हरेश हुँदै आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ । मानसिक तनावकै कारण पनि व्यक्ति आत्महत्याको तहमा पुग्ने गरेका छन् ।


तपाईको प्रतिक्रिया