नेपाल रेडियोलोजीकल सोसाईटी कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा शाही

सुर्खेत । नेपाल रेडियोलोजीकल सोसाईटी कर्णाली प्रदेशको प्रथम अधिवेशन आज (शनिवार) सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनले भुपेन्द्र शाहीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रकास केसी, मान बहादुर खत्री, सचिवमा गजेन्द्र काफ्ले, सहसचिवमा संजय थापा, कोषाध्यक्षमा महेन्द्र कँडेल र सहकोषाध्यक्षमा कालि बहादुर भण्डारी सर्वसम्मत चयन भएका छन् । समितिको सदस्यहरुमा बेन्जु विक, रमा सिजापति, अग्र रोकाय, र मिलन अधिकारी, रहेका छन् । अधिवेशनले दुई सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा महेन्द्र कुमार वलि र मकर बहादुर हमाल रहेका छन् । अधिवेशनको घोषणासभामा प्रमुख अतिथि कर्णाली प्रदेशका सामाजिक विकास विकासमन्त्री टेकराज पछाईले मेडिकल हबको रुपमा विकास हुँदै गएको सुर्खेतमा रेडियोलोजिष्टहरुको पेशागत सुरक्षा महत्वपूर्ण विषय भएको बताएका छन् ।

यस्तै प्रदेश आयुर्वेदिक औषधालयका प्रमुख डा.शंकर रिजालले रोग पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने रेडियोलोजिष्टको दरबन्दी सरकारी स्वास्थ्य संस्थाहरुमा अन्यन्त न्यून रहेको बताए । स्थानीय स्वास्थ्य संस्थाहरुमा रेडियोलोजीष्टहरुको माग भएतापनि सरकारी दरबन्दी छैन ।” सरकारी स्वास्थ्य संस्थाहरुमा अहेव र कार्यालय सहयोगीहरुको एक्सरे चलाईरहेको भन्दै उनले यस्तो अवस्थाको अन्त्य हुनु पर्ने बताए । व्यवसायिक सुरक्षा र स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै काम गर्न आग्रह गर्दै रिजालले जनताले गुणस्तरीय सेवाको अनुभूति हुने गरी काम गर्न सुझाव दिए । कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्मर खड्काले पालिकाहरुमा रेडियोलोजीष्ट दरबन्दी सिर्जना गर्नुपर्नेमा जोड दिए । एक्सरे विकिरण खतरा छ भन्ने थाहा हुँदाहुँदै पनि खतराको जोखिम कम गरेर स्वास्थ्य क्षेत्रमा धेरै नै फाईदा लिईरहेको उनले बताए । यसबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन सबैले सहयोग गर्नुपर्ने डा. खड्काकोे भनाई थियो ।

उनले जोखिम हुँदाहुँदै आफूलाई बचाउँदै अरुलाई बचाईरहेको चर्चा गर्द विकिरणले क्यान्सर जस्तो खतरनाक रोग लाग्न सक्छ भन्ने जनचेतना जगाउन आवश्यक रहेको बताए । नेपाल रेडियोलोजिकल सोसाइटी नेपाल भरिका सम्पूर्ण रेडियोलोजी तथा रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको छाता संगठन हो । देशभरिका सम्पूर्ण रेडियोग्राफी तथा रेडियोलोजी स्वास्थ्यकर्मीरुलाई एकतावद्ध गर्दै व्यावसायिकता प्रबद्र्धन, व्यावसायिक हकहितको सुरक्षा तथा सेवाको गुणस्तर एवं सेवाग्राहीको उपभोक्ता अधिकारको प्रबद्र्धन गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको नेपाल रेडियोलोजीकल सोसाईटी कर्णाली प्रदेश सुर्खेतका संयोजक मकर बहादुर हमालले बताए । नेपालमा पछिल्लो आकँडा अनुसार रेडियोग्राफर तथा रेडियोलोजीष्ट गरी ४५०० भन्दा बढी रेडियोग्राफी रेडियोलोजी स्वास्थ्यकर्मीहरु नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भईसकेका छन् । अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको ऐन कानुन तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को आचारसंहिता, स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार एक्सरे सेवा संचालन गर्न रेडियोग्राफी विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भै नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको रेडियोग्राफर अनिवार्य हुनु पर्ने व्यवस्था रहेको छ ।

संयोजक हमालले “एकातिर दक्ष जनशक्ति बेरोजगार भै बस्नपरेको छ भने अर्को तिर सरकारी निजी अधिकांश अस्पतालहरुमा एक जना रेडियोग्राफर पनि नभएको बताए । आकस्मिक सेवा सहित २४ सै घण्टा सेवा दिनुपर्ने जिल्ला तथा साविकका अञ्चल अस्पतालहरुमा समेत केवल एक जना मात्र रेडियोग्राफरको दरबन्दी रहेको अवस्था छ ।” अधिकांश सरकारी स्वास्थ्य संस्थाहरु मै अदक्ष व्यक्तिहरुले सेवा संचालन गरिरहेको भन्दै उनले पछिल्लो समयमा प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरुमा विभिन्न बहाना बनाएर केवलएक हप्ता तालिम गराइ असम्बन्धित र अदक्ष व्यक्तिहरुबाटै एक्सरे सेवा संचालन गरी रेडियोग्राफी पेशा र सेवाग्राहीको जिउज्यान खेलबाड गरिएको उनको आरोप थियो ।

उनले थपे “अझ दुःखद पक्ष त के छ भने स्वास्थ्य मन्त्रालय यो सबै व्यावसायिक अनियमिततामा बारम्बार सचेत गराइदा पनि मुकदर्शक बनेर बसेको छ ।”जहाँ एक्सरे सेवा संचालित छ त्यहाँ कम्तिमा एक जना दक्ष रेडियोग्राफर हुनै पर्ने भन्दै उनले अन्य रेडियोलोजी सेवाका लागि थप योग्यता भएका रेडियोग्राफी स्वास्थ्यकर्मी अनिवार्य हुने गरी विद्यमान ऐन कानुन र मापदण्ड अनुसारको दरबन्दी कायम गर्न माग गरे । रेडियोग्राफी स्वास्थ्यकर्मीहरुका उचित सेवासुविधा, नियमित तालिम र वृत्तिविकासका कार्यक्रमहरुको समेत प्रबन्ध गर्न सरोकारवालासँग उनले अनुरोध गरे । पत्रकार माया थापाले सञ्चालन गरेको अधिवेशन कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक मन्त्री टेकराज पछाई, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, नेपाल रेडियोलोजीकल सोसाईटी कर्णाली प्रदेश सुर्खेतका संयोजक मकर बहादुर हमाल, प्रदेश आयुर्वेदिक औषधालयका प्रमुख डा.शंकर रिजाल, स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख रविन खड्का, प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्का, कर्णाली प्रदेशका विभिन्न जिल्लामा आवद्द रहेका रेडियोलोजीष्ट, रेडियोग्राफी, रेडियोग्राफर जिल्ला प्रशासन कार्यालयका कर्मचारी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तस्बिर

तपाईको प्रतिक्रिया