प्रदेश अस्पताल सुर्खेतमै मृगौला प्रत्यारोपण हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा शनिबारदेखि सुरु गर्ने जानकारी गराएको हो । प्रदेश अस्पताल सुर्खेतका प्रमुख डा. डम्बर खड्काले कर्णालीका नागरिकलाई प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा दिन अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने कार्य सम्पन्न भइसकेको बताए । प्रदेश अस्पतालले बिरामीहरुको चाप बढेसँगै नयाँ सेवा सुविधा विस्तार कार्य अघि बढाएको जनाएको छ ।

अस्पतालले आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९/०८० मा गरेको प्रगति विवरण सार्वजनिक गरेको थियो । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार ३४० जनाले ओपीडी सेवा लिएकोमा यो आर्थिक वर्षको पहिलो ६ महिनामा ८४ हजार २८८ जना पुगेका छन् । यस्तै अघिल्लो आर्थिक वर्षमा १० हजार ७ सय ४६ जनाले महिनामा इण्डोर सेवा लिएका थिए । यस वर्षको पहिलो ६ महिनामा ११ हजार ८९१ जना पुगेका छन् । अघिहाल २ सय ९७ शय्याको अस्पतालमा दैनिक औसत ४०५ बिरामी भर्ना हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया