जिल्ला अदालत जाजरकोटमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

जाजरकोट । जिल्ला अदालत जाजरकोटमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको पाईएको छ । गत आर्थिक वर्षको तुलनामा भन्दा चालु आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा बढ्न सक्ने देखिएको जिल्ला अदालत जाजरकोटले जनाएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा सम्बन्ध विच्छेदका मुद्दा १ सय १३ वटा रहेकामा चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा ५६ पुगेको छ । गत आर्थिक वर्ष सम्बन्ध विच्छेदका मुद्दामध्ये १ सय ९ वटा फछ्यौट भएको र चार वटा मुद्दा बाँकी रही चालु आर्थिक वर्षमा सरेका थिए । सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा कम उमेरमा हुने विवाह, अन्तरजातीय विवाह, सामाजिक सञ्जाल मार्फत प्रेम सम्बन्ध र वैदेशिक रोजगारी मुख्य कारण रहेको जिल्ला अदालत जाजरकोटका श्रेतेदार (उपसचिव) नारायण सापकोटाले जानकारी दिए ।

यस्तै चालु आर्थिक वर्षको ६ महिनामा ५६ वटा मुद्दा परेकामा ३५ वटा मुद्दाको फैसला भईसकेको र २१ मुद्दा विचाराधिन अवस्थामा रहेको जिल्ला अदालतको तथ्याङ्गकमा उल्लेख गरीएको छ । श्रेतेदार सापकोटाका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका चार वटा मुद्दा सम्बन्धित व्यक्ति उपस्थित नहुनु, मुद्दा दायर गरेर पनि छलफलमा नआउनु र वारेसनामाजस्ता कारणले फैसला हुन नसक्नु रहेको छ ।

तपाईको प्रतिक्रिया