‘अर्गानीक कृषि पाठ्यक्रम’ निर्माण गर्ने तयारी मप विश्वविद्यालय

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ‘ अर्गानीक कृषि पाठ्यक्रम’ निर्माण गर्ने तयारी गरिएको छ ।
स्नातक तहको बिएससी एजीका लागि ‘अर्गानीक कृषि पाठ्यक्रम निर्माण गर्न लागिएको विश्वविद्यालयका पाठ्यक्रम विकास निर्देशक डा. लिलाधर तिवारीले जानकारी दिए ।
यसका लागि सुर्खेतको चौकुने, दशरथपुर लगायत प्रदेशका विभिन्न उपयुक्त ठाउँहरुमा पुगेर अध्ययन गरिएको उनले बताए । यो विषयको पाठ्यक्रम बनाउन सकिएमा नेपालको पहिलो अर्गानीक पाठ्यक्रम बनाउने विश्वविद्यालयका रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय हुने उनले दावी गरे ।
‘अर्गानीक कृषिसम्बन्धी पाठ्यक्रम बनाउन सक्यौं भने यो नेपालमा पहिलो हुनेछ,’ तिवारीले भने, ‘यो सम्भव पनि छ, किनभने यहाँ धेरै विषादी प्रयोग नहुने ठाउँ हो र सरकारले पनि अर्ग्यानिक प्रदेशको लक्ष्य लिएको छ ।’
उनले कर्णाली प्रदेश सरकारले लिएकोअर्गानीक प्रदेशको लक्ष्य यो पाठ्यक्रमले पूरा गर्न सहयोग गर्ने बताए। निजी क्षेत्रले पनि अर्ग्यानिक कृषि पाठ्यक्रम बनाउन सहयोग गरिरहेको तिवारीले जानकारी दिए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं सिनेटले कर्णाली प्रदेशमा दुईवटा कृषि क्याम्पस सञ्चालन गर्ने प्रस्ताव पनि स्वीकार गरेको छ । यी विद्यालयमा पनि पढाई हुने कृषि विषयका लागि अर्ग्यानिक कृषि पाठ्यक्रम उपयोगी हुने अर्ग्यानिक एग्रीकल्चर कार्यक्रमका फोकल पर्सन तथा विश्वविद्यालयका शिक्षा शास्त्र संकायका सहायक डीन विष्णु कुमार खड्काले बताए ।
सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश अधिकारीले सबै ठाउँमा विक्ने खालको जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई यस्तो पाठ्यक्रमले सघाउ पुर्याउने बताउँदै निजी क्षेत्रका तर्फबाट पनि सहयोग गरिने बताए । अर्ग्यानिक कृषि पाठ्यक्रमले बाह्य देशका विद्यार्थीलाई समेत मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पढ्न आउन आकर्षित गर्ने अपेक्षा निजी क्षेत्रको रहेको उनले बताए ।
विश्वविद्यालयको अर्ग्यानिक कृषि पाठ्यक्रम निर्माणका लागि कासर विश्वविद्यालय जर्मनीका पूर्व अर्ग्यानिक संकायका डीन डा. पिटर वन निम्सडर्फलाई सहयोग गर्न यहाँ बोलाइएको छ। डा. पिटरले कर्णाली प्रदेशमा अर्ग्यानिक उत्पादनको सम्भावना धेरै भएकाले यस्तो खालको पाठ्यक्रम उपयुक्त हुने बताए । सेताेपाटीबाट साभार


तपाईको प्रतिक्रिया