सुर्खेत । जिल्लाको भेरीगंगाबाट ठूलो मात्रामा अवैध चिनी बरामद गरीएको छ । सोमवार बिहान साँढे ६ बजेको समयमा भेरीगंगा नगरपालिका –५ स्थित अस्थाई प्रहरी पोष्ट बबई सुर्खेतले चेकजाँचका क्रममा राजश्व छली गरेर ल्याउँदै गर्दा ठूलो मात्रामा चिनी बरामद गरेको हो । नेपालगञ्ज देखि जाजरकोट जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ५१२ नम्बरको ट्रकलाई चेकजांच गर्दा ठूलो मात्रामा चिनी बरामद गरीएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।
करिब १० बोरा अर्थात ५ कुन्टल चिनीको कुनै पनि बिल नभएको प्रहरीले जनाएको छ । बरामद चिनी भन्सार कार्यालय नेपालगंजलाई बुझाईएको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए । पछिल्लो समयमा भेरीगंगा नगरपालिका ५ बबईबाट अवैध चिनी, सुर्ति विभिन्न किसिमका कपडाहरु बरामद गरिदै आएको छ । प्रहरीले केही दिन अगाडि मात्रै सोही ठाउँबाट अवैध रुपमा बेवारिसे २ बोरा अर्थात करिब २७ हजार बरावरको सुर्तीजन्य सामान बरामद गरेको थियो ।


दर्शन खबर । २६ मंसिर २०७९, सोमबार