कर्णालीका १६ ठाँउमा होमस्टे सञ्चालन गर्दै प्रदेश सरकार

सुर्खेत ।
कर्णालीका १६ स्थानमा होमस्टे घरवास सञ्चालनमा आउने भएका छन् ।
कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न १६ स्थानमा होमस्टे सञ्चालन गर्ने भएको हो ।
कर्णाली प्रदेशका पर्यटकीयस्थललाई लक्षित गर्दै होमस्टे सञ्चालनको काम भइरहेको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले जानकारी दिए । होटलको सहज पहुँच नभएकाले होमस्टे सञ्चालन गर्न लागेको उनको भनाई छ ।
होमस्टे सञ्चालन अन्तर्गत कालिकोटको पचाल झरना होमस्टे तथा उद्यान निर्माण, कालिकोटको खाडाचक्र नगरपालिकाको पिली क्षेत्रमा होमस्टे सञ्चालनका लागि तयारी भइरहेको छ ।
यस्तै जुम्लाको तातोपानीमा ऐरेनी तातोपानी होमस्टे, बड्डी होमस्टे, मालिका बत्ती होमस्टे सञ्चालनमा आउने भएका छन्। यस्तै डोल्पामा त्रिपुरासुन्दरी बगर होमस्टे, दैलेखको दुल्लु नगरपालिकाको लाफा होमस्टे, मुगुमा झ्यारी, लामाचौर र ताल्चा होमस्टे सञ्चालनमा आउन लागेका छन् ।
मन्त्रालयका अनुसार रुकुमको स्र्यापु, हुम्लाको सिमीकोट, सल्यानको कुपिण्डे र सुर्खेतको वीरेन्द्रनगरमा पातालगङ्गा होमस्टे सञ्चालनमा आउने भएका हुन् । ती होमस्टे सञ्चालनको तयारीमा भईरहेको सूचना अधिकारी रोकायले बताए ।
उनका अनुसार होमस्टेमा कोशेली घर तथा सामुदायिक घर निर्माण भइरहेका छन् । कतिपय स्थानमा निर्माणको चरणमै छन्। यस आर्थिक वर्षमा पनि होमस्टे सञ्चालनका लागि बजेट छुट्याइको उनले जानकारी दिए । एउटा होमस्टे निर्माणको लागि रु. २५ देखि ५० लाख सम्म बजेट छुट्याएको उनले बताए ।
त्यसैगरी मन्त्रालयले आर्थिक वर्ष २०७५र७६ मा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास निर्माण कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रको विकास निर्माणको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । रासस


तपाईको प्रतिक्रिया