काठमाडौं । नेकपा एमालेको प्रतिनिधिसभा तर्फको समानुपातिक मत २५ लाख नाघेको छ । हालसम्म भएको ९१ लाख ८६ हजार मतगणनामा एमालेले २५ लाख ७ हजार ४०३ मत पाएको छ भने नेपाली कांग्रेसले २३ लाख ७७ हजार ४९८ मत पाएको छ । तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ हजार ८८५ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार १८६ मत पाएको छ । हिजोसम्म माओवादी तेस्रो नम्बरमा रहेकोमा पछिल्लो परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि माओवादीलाई उछिनेको छ । समानुपातिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४३ हजार १७१, जनता समाजवादी पार्टीले ३ लाख १४ हजार २९४, जनमत पार्टीले २ लाख ५१ हजार, नेकपा एकीकृत समाजवादीले २ लाख ४७ हजार १७७ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ३४ हजार ४१४ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २४ हजार ९३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार ६३१ मत, हाम्रो नेपाली पार्टीले ५२ हजार ६७७ मत, मंगोल नेसनल अर्गनाइजेसनले ४५ हजार २९१, राष्ट्रिय जनमोर्चाले ४४ हजार ७२४ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जानकारी दिएको आधारमा चुनावमा १ करोड ९ लाख मत खसेको अनुमान छ । मत कति बदर भयो भन्ने यकिन भैसकेको छैन । एक करोड मत सदर भयो भने राष्ट्रिय दल बन्नको लागि ३ लाख मत आवश्यक पर्छ । प्रत्यक्षमा १० सिट जितेको नेकपा एकीकृत समाजवादी पार्टीलाई समानुपातिकतर्फ कम मत आउँदा राष्ट्रिय दल बन्न गाह्रो देखिएको छ । राष्ट्रिय दलको मान्यता प्राप्त गर्नको लागि प्रत्यक्षतर्फको कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ पनि कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनु अनिवार्य छ । तर अहिलेसम्म आएको मत र मतवृद्धिको दरलाई हेर्दा एकीकृत समाजवादीले तीन लाख मत ल्याउने सम्भावना कम देखिएको छ । अब झण्डै १८ लाख मत गन्न बाँकी छ ।


दर्शन खबर । १२ मंसिर २०७९, सोमबार