गुल्मी। गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । बुधबार बिहान साढे २ बजेतिर सत्यवती गाउँपालिकाको कुटडाँडामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ठूलो लुम्पेकदेखि कुटडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर गुल्मीको सत्यवती गाउँपालिका–३ का ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिंजापती, ३० वर्षका मिलन तरामु र ४३ वर्षकी जमुना सोमैको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिए । ४ जनाको घटनास्थलमै र घाइते सोमैको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अरु ४ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिका–३ का वडाअध्यक्ष जितबहादुर त्रामुमगरले बताए । दुर्घटना भएको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्ससहितको प्रहरीको टोली घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।


दर्शन खबर । ७ मंसिर २०७९, बुधबार