डोल्पा। देशैभरि मतगणना भइरहँदा डोल्पामा भने मतपेटिका अझै सदरमुकाम ल्याउन सकिएको छैन। सेनाको हेलिकप्टरले २ दिनदेखि प्रयास गरे पनि अझै सबै मतपेटिका सदरमुकाम दुनैमा ल्याउन नसकिएको हो। २२ वटा केन्द्रमध्ये ५ ठाउँको मतपेटिका ल्याउन बाँकी रहेको डोल्पाका जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले जानकारी दिए । उनका अनुसार फोक्सुण्डो गाउँपालिका भित्रका २ केन्द्रको र छार्काताङसुङ गाउँपालिका भित्रका ३ वटा केन्द्रको मतपेटिका ल्याउन नसकिएको हो। मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिकाबाट स्थलमार्गबाट मतपेटिका ल्याइँदै गरेको उनले बताए। मतपेटिका ल्याउन आएको हेलिकप्टर इन्धन सकिएको भन्दै सुर्खेत फर्किएको छ। भोलि मात्र बाँकी ठाउँबाट मतपेटिका ल्याउने काम हुने निर्वाचन अधिकारी सार्कीले बताए।


दर्शन खबर । ६ मंसिर २०७९, मंगलवार