
फाइल तस्विर
जाजरकोट । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जाजरकोटका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्याइएको छ । मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो । निर्वाचनका लागि आवश्यक सामग्रीसहित एक हजार १ सय ४१ कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ५८ प्रकारका निर्वाचन सामग्री मतदानस्थल पुर्याएका छन ।
सात स्थानीय तह रहेको जाजरकोटमा ८३ मतदानस्थल, एक सय ४२ र एक अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी नविन कुमार अधिकृत कठायतले बताए । मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भङ्ग गर्न निषेधसम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदानस्थल निर्माण गर्ने जनाइएको छ । आसन्न निर्वाचनमा जाजरकोटका एक लाख तिन हजार तिन सय ६३ मतदाताले मताधिकार उपयोग गर्ने अधिकारी कठायतले जानकारी बताए । जसअन्तरगत क्षेत्र नम्बर एकमा ५६ हजार ५ सय ६८ र क्षेत्र नम्बर २ मा ४६ हजार ४ सय ९५ जना रहेको प्रमुख नविन कुमार कठायतले जानकारी दिए ।


दर्शन खबर । २ मंसिर २०७९, शुक्रबार