जातीय विभेदको अन्त्य आरक्षणबाट नभई ज्ञान र सीपले हुने अध्यक्ष ओलीको भनाइ

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभई ज्ञान र सीपबाट मात्र हुने बताएका छन् । एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले आज दमकमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न नसक्ने बताए । उनले आरक्षणले ज्ञान, सीप र क्षमतालाई निष्क्रिय बनाउँदै समुदायका पनि एउटा निश्चित व्यक्तिले मात्र अवसर पाउने बताए ।

उनले भने, “आरक्षणले बौद्धिकता र ज्ञानमाथि अन्याय हुन्छ ।” लामो समयदेखि उत्पीडनमा परेका जाति समुदायलाई केही समयका लागि मात्र आरक्षणको व्यवस्था गरिएकाले अब लामो समय जान नहुनेमा उनले जोड दिए । नेपालमा संविधान र कानूनमा विभेद हटेको वर्षौं भएपनि मानिसको चेतना र व्यवहारमा हट्न अझै बाँकी रहेको उनको भनाइ छ । उनले देशमा भएको जातीय विभेदविरुद्ध सङ्गठितरूपमा एमालेले आवाज उठाउँदै आएकाले अब राज्यतहबाटै विभेद उन्मूलनको योजना अघि बढाइने बताए ।

तपाईको प्रतिक्रिया