हेटौंडा । मकवानपुर २ बाट गठबन्धनका उम्मेद्वार विरोध खतिवडालाई कुटपिट गर्ने हेटौंडा २ का पुरुषोत्तम खड्का छुटेका छन्।पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडाकै आग्रहमा खड्कालाई मकवानपुर प्रहरीले छोडेको हो। खतिवडालाई मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा गएका बेला खड्काले झापड हानेका थिए। उम्मेदवारमाथि हातपात गरेपछि खड्कालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो। आफूलाई दुर्व्यवहार गरेपछि प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन उम्मेद्वार खतिवडाले मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका थिए।
खतिवडाको आग्रहबमोजिम आफन्तको जिम्मा लगाई खड्कालाई छाडिएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। आफू गठबन्धनका तर्फबाट साझा उम्मेदवार रही अत्यधिक मतसहित जित्ने निश्चित देखिएपछि हारको मानसिकता बोकेकाले मादक पदार्थ खुवाएर पठाइएर आफूमाथि दुव्र्यबहार गराइएको खतिवडाको भनाइ छ। हारदेखि अत्तालिएकाबाट त्यस्तो गलत व्यवहार भए पनि आफूले त्यसलाई सामान्य रुपमा लिएर दुर्व्यवहार गर्नेलाई छाडिएको खतिवडाले बताए।


दर्शन खबर । २३ कार्तिक २०७९, बुधबार