उम्मेदवारको निधन हुँदा पनि मंसिर ४ मै चुनाव गर्ने तयारी

मोरङ। उम्मेदवारको निधन भएको मोरङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(१) मा तोकिएकै मिति मंसिर ४ गते नै चुनाव गर्ने तयारी भएको छ । प्रदेश १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ ३(१) का प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधनपछि पनि तोकिएकै मितिमा चुनाव गर्ने तयारी छ । प्रदेश निर्वाचन कार्यालय १ नम्बर प्रदेशका प्रमुख लेमन काश्यव अधिकारीले भोलि बिहीवारसम्म उम्मेदवारी दर्ता गराएर तोकिएकै मितिमा चुनाव गर्ने तयारी रहेको जानकारी दिए । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थापाको निधनपछि अब कांग्रेसलाई अर्को उम्मेदवारी दर्ता गर्न समय दिइनेछ । उम्मेदवारी दर्ता गर्न कांग्रेसलाई बिहीवारसम्मको समय दिने तयारीबारे छलफल भइरहेको उनले बताए । फोक्सोको निमोनियाबाट पीडित रहेका ५८ वर्षीय थापाको विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया