एमालेले नागरिकसँग मत माग्न सक्ने अधिकार छैन : प्रचण्ड

जुम्ला – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले कर्णालीको विकासमा प्राथमिकता दिने बताएका छन् । सत्तारूढ गठबन्धनको सभालाई सम्बोधन गर्न आज मङ्गलवार जुम्ला पुगेका अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनावमा गठबन्धनको जित सुनिश्चित भएको दाबी गर्दै अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताए । उनले सिञ्जा सभ्यता नेपालको गौरवको सभ्यता भएकाले सरकारले सिञ्जासम्बन्धी प्रतिष्ठान बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए । सम्बोधन कै क्रममा अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन देशलाई अँध्यारोबाट बचाउन आवश्यक भएको जिकिर गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइको सरकार बचाउन नसकेको र पार्टी विभाजन गर्ने काम गरेकाले एमालेलाई नागरिकसँग मत माग्न सक्ने अधिकार नभएको दाबी गरे। अध्यक्ष प्रचण्डले राप्रपाबाट जुम्लाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीलाई व्यङ्ग्य गर्दै राजतन्त्रका प्रेत आत्माहरू जुम्लामा पनि चिच्याइरहेकाले सामन्तवादीहरूलाई नागरिकले शून्य बनाएर छोडिदिने जिकिर गरे ।

तपाईको प्रतिक्रिया