टोपी प्रयोग गरेको भन्दै प्रचण्ड, नारायणकाजी र रविलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरिएको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हसिया हथौडाको संकेत रहेको नेपाली टोपी प्रयोग गरेको भन्दै आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता एवम् उपन्यायाधिवक्ता गुरुराज वाग्लेले जानकारी दिए । उनका अनुसार ‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई’ भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आयोगमा उजुरी परेपछि लामिछानेलाई स्पष्टीकरण सोधिएको छ ।

निर्वाचन प्रचारप्रसारको लागि क्यापको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र तीन जनालाई नै निर्वाचन आयोग नेपाल वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।
पत्रमा उनीहरुलाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा १ को खण्ड घ को विपरीत भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ३ र ४ बमोजिमको कारबाही किन हुनुनपर्ने हो ? भनी सोधिएको छ ।
निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा १ को खण्ड घ मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया