प्रचण्डको सङ्गत गरेपछि देउवाले बन्दुकको भाषण गर्न थाल्नु भएछ : ओली

स्याङ्जा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारले मात्रै देशमा समृद्धि ल्याउन सक्ने दाबी गर्नुभएको छ । आज सोमवार नेकपा एमाले स्याङ्जाले पुतलीबजारमा आयोजना गरेको चुनावी सभामा बोल्दै ओलीले भन्नुभयो, ‘नागरिकको हितमा काम गर्ने एमालेमात्रै हो ।’ सत्तारूढ गठबन्धनप्रति निकै आक्रामक देखिनुभएका ओलीले गठबन्धनाई सातुको डल्लो भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो सत्तारुढ सातुको गठबन्धनलाई परमादेशको पानीले जोडिदिएको छ, जुन सहजै छुटिने स्पष्ट छ ।’ गठबन्धनका नेताहरू स्वार्थका खेलाडी भएको उहाँको आरोप छ ।

एमाले सरकारले विगतमा निकै राम्रा काम गरेको जिकिर गर्दै अध्यक्ष ओलीले फेरि पनि मङ्सिर ४ गतेपछि एमालेको सरकार बन्ने दाबी गर्नुभयो । यस पटकको चुनाव देशलाई उज्यालो कि अँध्यारोतर्फ लैजाने भन्नका लागि महत्त्वपूर्ण रहेको भन्दै उहाँले भन्नुभयो, ‘एमाले सरकारले मात्रै देशमा समृद्धि ल्याउन सक्छ ।’ अध्यक्ष ओलीले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भन्ने जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सिमानामा जानुस् न भन्नु भएछ’, उहाँले भन्नुभयो, ‘प्रचण्डको सङ्गत गरेपछि उहाँले बन्दुकको भाषण गर्न थाल्नुभएछ । अध्यक्ष ओलीले २०४२ सालमा स्याङ्जाको जेलमा बसेको स्मरण गर्दै स्याङ्जाका दुवै क्षेत्रमा एमालले जित्ने जिकिर गर्नुभयो ।उज्यालो


तपाईको प्रतिक्रिया