सुर्खेत । आगामी निर्वाचनका लागि जिल्लामा कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका १३९ मतदानस्थल छन्। समितिका अनुसार ८६ संवेदनशील र ३३ कम संवेदनशील छन्। यसअनुसार निर्वाचन क्षेत्र नं १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये नौ अति संवेदनशील, ६० वटा संवेदनशील र तीन कम संवेदनशील छन्। जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थलमध्ये ११ अति संवेदनशील, २६ संवेदनशील र ३० कम संवेदनशील छन्। सुरक्षा समितिले निर्वाचन क्षेत्र नं १ ९१० मा सात अति संवेदनशील, २४ संवेदनशील, ९२० मा र दुई अति संवेदनशील, ३६ संवेदनशील र तीन मतदानस्थललाई कम संवेदनशीलको सूचीमा राखेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं २ ९१० मा सात अति संवेदनशील र संवेदनशील मतदानस्थल छैनन् भने कम संवेदनशील २४ मतदानस्थल रहेका छन्। त्यस्तै ९२० मा ११ अति संवेदनशील, २६ संवेदनशील र छ मतदानस्थल कम संवेदनशील छन्।
निर्वाचन सुरक्षा चुनौती कम गर्न मतदानस्थलको सुरक्षाका लागि आवश्यक काम भइसकेको र संवेदनशील, संवेदनशील र कम संवेदनशील मतदानस्थल वर्गीकरण गरेर तत्काल थप सुरक्षाकर्मी पुग्ने गरी रणनीति तयार गरिएको प्रजिअ रिजालले बताए। प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको जिल्लामा संवेदनशील रूपमा लिइएका मतदानस्थललाई नेपाल प्रहरीले अहिलेदेखि नै निगरानी गरिरहेको पनि उनले बताए। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत जिल्लामा प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी बलका डिएसपीको कमाण्डमा सशस्त्र प्रहरी परिचालन भइसकेको बताइएको छ। सुर्खेतको पूर्वसिम्ता गाउँपालिकादेखि पश्चिम चौकुने गाउँपालिकासम्मका सुरक्षा संवेदनशील मानिएका मतदानस्थलको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली तयारी अवस्थामा राखिने जनाइएको छ।
रासस


दर्शन खबर । २१ कार्तिक २०७९, सोमबार