भारतीय पक्षले नेपालतर्फ महाकालीबाट ढुंगा उठाएपछि दार्चुलामा तनाव


दार्चुला । भारतले दार्चुला सदरमुकाम खलंगा पारि महाकाली नदी किनारमा तटबन्ध निर्माणको काम पुनः थालेपछि स्थानीय नेपाली विरोधमा उत्रिएका छन् ।
भारतीय पक्षले स्काभेटरको प्रयोग गरेर तटबन्ध निर्माणका लागि नेपाली भूभागबाट ढुंगा लगेपछि दार्चुलास्थित सीमामा बुधबार तनाव उत्पन्न भएको छ ।
स्काभेटरको प्रयोग गरी नेपालबाट ढुंगा लैजान नपाउने र नेपाली भूभाग डुबाउने गरी तटबन्ध निर्माण भइरहेको भन्दै आक्रोशित स्थानीयले पारिपट्टी ढुंगा प्रहार समेत गरेका छन् ।
उनीहरुले यसकै विरोधमा व्यास सडक समेत अबरुद्ध गरेका थिए । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भारतीय समकक्षीसँग वार्ता गर्ने बताएपछि अबरुद्ध सडक सञ्चालनमा आएको छ । भारतीय पक्षले लामो समयदेखि रोकेको तटबन्ध निर्माणको काम मंगलबारबाट पुनः सुरु गरेको छ । दार्चुला सदरमुकामको बंगाबगड क्षेत्र भन्दा ठिक पारि भारतले गतवर्षदेखि एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको छ ।
अन्तर्राष्ट्रिय कानूनलाई उल्लंघन गर्दै भारतले पटक–पटक सीमा क्षेत्रमा यस्ता गतिविधि बढाएपछि स्थानीय आक्रोशित छन् । नेपालखबरबाट


तपाईको प्रतिक्रिया